लण्डन — बेलायतस्थित गुल्मेलीहरूको साझा संस्था गुल्मी जिल्ला समाज यूके द्वारा आयोजित १८औँ वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार फेल्थामस्थित ट्युडोर पार्क मैदानमा आयोजना गरिएको उक्त कार्यक्रममा केही सहभागीहरूले राजनीति घुसेको तथा गुल्मीका स्थानीय कलाकारहरूलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी तम्घासका मोहनप्रसाद पाण्डेले आफ्नै जिल्ला गुल्मीका कलाकारहरू नल्याएर बाहिरका कलाकारलाई प्राथमिकता दिइएको भन्दै गुनासो गरे। उनले कार्यक्रमको समग्र पक्ष सकारात्मक भए पनि उपस्थिति अपेक्षाकृत कम रहेको र सुधार गर्नुपर्ने पक्षहरू रहेको बताए। “कार्यक्रम राम्रो छ, तर सुधार गर्नुपर्ने कुरा धेरै छन्। यहाँ राजनीति घुसेको जस्तो महसुस भएको छ,” उनले भने। पाण्डे तम्घासका पूर्व वडा अध्यक्ष समेत हुन्।
यद्यपि कार्यक्रममा सहभागी गुल्मेली तथा गैर–गुल्मेली नेपालीहरूले प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमलाई नेपालको गाउँघरको मौलिकता झल्काउने जीवन्त उदाहरणका रूपमा व्याख्या गरेका थिए। कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परालाई समेट्ने विविध प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा गुल्मेली नौमती बाजाको लाइभ प्रस्तुती रहेको थियो। साथै नेपालबाट आएका कलाकारहरूको लोक प्रस्तुतीमा सहभागीहरू झुमेर नाचेका थिए। खुला चौरमा तीज गीत, गुल्मेली झ्याउरे, ठाडो भाका तथा सालैजो जस्ता मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए, जसमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
समाजकी अध्यक्ष मञ्जु भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दबाडी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले गुल्मेली समुदायको सक्रियता र परोपकारी भावनाको प्रशंसा गर्दै गुल्मी कला र संस्कृतिमा अग्रणी जिल्ला भएको उल्लेख गरे। साथै, स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनले पहिचान र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूल पण्डित निलहरि घिमिरे सहित आनन्दराज लोहनी, बासुदेव सापकोटा, बिनोद पन्थी र थानेश्वर पाण्डेद्वारा विधिपूर्वक पूजा–पाठ सम्पन्न गरिएको थियो।
कार्यक्रमको उद्घाटन समाजकी अध्यक्ष मञ्जु भण्डारी, प्रमुख अतिथि विपिन दबाडी तथा कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले पानसमा बत्ती बालेर गरेका थिए।
संस्थापक अध्यक्ष ओमप्रकाश थापा काउछाले समाजले बेलायतमा रहेका गुल्मेलीहरूलाई एकताबद्ध गर्दै दुःख–सुखमा साथ दिने संस्थाको रूपमा आफूलाई स्थापित गरेको बताए। उनले अन्य संघ–संस्थाका लागि समेत समाज उदाहरणीय बनेको उल्लेख गरे।

कार्यक्रममा एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगरले बेलायतमा नेपाली संस्कृति प्रवर्द्धनमा समाजले खेलेको भूमिका सराहनीय रहेको बताए।
महासचिव महलाल घिमिरेद्वारा सञ्चालन गरिएको कार्यक्रममा उपाध्यक्षले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव राधा खरेलको संयोजनमा कार्यसमितिले कार्यक्रम व्यवस्थापन गरेको थियो।
कार्यक्रममा लोकप्रिय गायक प्रकाश दुतराज तथा ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता प्रोसेश पाण्डे लगायत कलाकारहरूले सांगीतिक प्रस्तुती दिएका थिए। साथै सम्झना भण्डारी, पूनम गुरुङ र सरिस्मा मगरको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
यसैगरी गुल्मेली पञ्चेबाजा, नेपाली सांस्कृतिक झाँकी, बालबालिकाका गतिविधि तथा राफल ड्र कार्यक्रमले सहभागीहरूको उत्साह थप बढाएको थियो।
कार्यक्रम संयोजक ताम ढेगाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् भने सह–संयोजक तथा पूर्व अध्यक्ष वीर बलालले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको बताए।
समाजका महासचिव महलाल घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, स्वयंसेवक तथा बेलायतस्थित नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्। अध्यक्ष मञ्जु भण्डारीले वार्षिक भेटघाटले समुदायबीचको सम्बन्ध र एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन्।
कोषाध्यक्ष अर्जुन बस्नेतले पनि कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

