१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि नेपालमा मतदान जारी

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०५:५६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि नेपालमा बिहीबार मतदान भइरहेकाे छ । विदेशमा रहेका नेपालीकाहरूका लागि भने बुधबार रातिबाटै अनलाइन भोटिङ खुला गरिएको छ । जसले मतदानको समय सुरु भएदेखि चौबिस घण्टाभित्र मतदान गरिसक्नुपर्नेछ ।

नयाँ नेतृत्वका लागि ५९ देशका ४ हजार २ सय २७ जनाले मतदान गर्दैछन् । नेपालमा उपस्थित भएका प्रतिनिधिहरूले भने बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरिसक्नुपर्नेछ । ५९ देशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले अनलाइनबाट मतदान गर्न पाउने छन् । निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार २ सय २७ छ । जसमध्ये बुधबारसम्म ९ सय हाराहारी प्रतिनिधि मतदानका लागि नेपाल आइपुगेका छन् ।

उनीहरूले निर्वाचन समितिले तोकेको नियमअनुसार मतदान गर्नेछन् । एनआरएनएका अनुसार संघको इतिहासमै पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ हुन लागेको हो । ११ औं विश्व सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइपुगेका मतदाताले भने सोल्टी होटल परिसरमा व्यवस्थापन गरिएको मतदान केन्द्रबाट मतदान गर्नुपर्नेछ ।

अनलाइन भोटिङ हुने भएकाले मतदानका लागि २० वटा ल्यापटपको व्यवस्था गरिएको छ । निर्वाचन समितिले व्यवस्थापन गरेको ल्यापटपबाहेक अन्य मोबाइल तथा डिभाइसबाट मतदान गर्न नपाइने प्रमुख निर्वाचन अधिकृत यादव ढुंगानाले बताए । उनका अनुसार तोकिएको निर्वाचन केन्द्रभन्दा बाहिर गएर मतदान गर्न पाइने छैन । ७४ पदमा नयाँ नेतृत्व चयन हुनेछ । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार त्यस्तै विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । अब ४१ पदका लागि ९७ जनाको उम्मेदवारी कायम छ ।

‘अनलाइन भोटिङ हुने भएकाले रिजल्ट आउन धेरै समय लाग्ने छैन, सम्भव भएसम्म बिहीबार राति नै र नभए शुक्रबार बिहानसम्म रिजल्ट आइसक्नेछ ।

अध्यक्ष पदका चार प्रत्यासीमा बद्री केसी, महेश श्रेष्ठ र आरके राजेन्द्रकुमार शर्मा रहेका छन् । ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षका लागि दुई र युवा उपाध्यक्षका लागि पनि दुई जनाकै उम्मेदवारी कायम छ । महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । उपमहासचिव दुई पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

सचिव ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ । सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।