२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएनए निर्वाचन : अनुगमन समितिको फर्जी रिपोट भ्रम र वास्तविकता

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०८०, आईतवार १०:००

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर भन्दै १० बुँदे फर्जी रिपोट अहिले बिभिन्न अनलाइनमा प्रकाशन भएका छन् ।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा संचालन भएको महाधिवेशन अन्तर्गत हुने निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूती गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले उपाध्यक्ष दुर्गा आचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठनको हवला दिदै प्रकाशित समाचारको फ्याक्ट चेक गरिएको छ । आचार्यले हाल सम्म संस्थामा कुनै पनि आधिकारीक रिपोट बुझाएका छैनन् । सात सदस्सीय समितिको कुनै बैठक बसेको छैन् । सो समितिलाई कुनै प्रकारको चुनावी रिपोट पेश गर्ने अधिकार विधानमा छैन् । संघको निर्वाचनमा पराजित समूहले संघको छवि धमिलो बनाउने उदेश्यले गरिएको फर्जी रिपोटको वास्तविकता यस्तो छ ।

१. महाधिवेशन अन्तर्गत चलिरहेको नेतृत्व छनौट लगायतका प्रकृयामा रिजल्ट प्रकाशित गर्ने क्रममा प्राप्त मतमा विश्वसनीयता नभएको भनि महाधिवेशनस्थलमै अध्यक्षत्रय (डा. बद्री केसी, कुल आचार्य र रविना थापा) र निर्वाचन समितिले छुट्टाछुट्टै सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि अधिवेशनका सम्पूर्ण गतिविधिहरु स्थगित गरेर त्यतिबेला देखिएको समस्याका सम्बन्धमा १४ दिनभित्र अनुसन्धान गर्ने निर्णय भएको पाइयो । यसबाट निर्वाचन समिति आईसीसीका पदाधिकारीहरु, सम्बन्धित उम्मेदवारहरुसमेत सम्पूर्ण पक्षले निर्वाचन प्रकृयामा ब्यापक अनियमितता भएको ठहर स्वीकार गरेको पाइयो । हाम्रो अनुगमनमा समेत निर्वाचनका सम्पूर्ण प्रकृयामा गम्भीर अनियमितता देखिएकोले सोही अनुसार ठहर गरियो ।

वास्तविकता : निर्वाचनको प्रकृया १४ दिन सार्ने र सो अवधिमा अनुसान्धान गर्ने भन्ने कुनै लिखित वा औपाचारिक निर्णय भएको होइन् । अधिवेशन भाड्ने नेतृत्व गरेका निवर्तमान अध्यक्ष कुल आचार्यको मागलाई सर्वसम्मतले अस्वीकार गरिएको थियो । निर्वाचन बाहेकका महाधिवेशन बन्दसत्रका कार्यक्रमहरु मात्र स्थगित भएका हुन् । निर्वाचन समिति स्वतन्त्र भएको कारणले तीन जना अध्यक्षको हस्ताक्षरमा निर्वाचनका कार्यक्रम सर्ने कुनै वैधानिक प्रावधान छैन् ।

२. तेश्रो पक्ष भेन्डर (भेरो) ले गराएको निर्वाचनमा निष्पक्षता कायम गर्न नसकेको पाइयो । निर्वाचनका सामान्य र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन समिति र भेण्डरसँग अध्यक्षका एक जना उम्मेदवारले मात्र सूचना आदान प्रदान गर्ने सुविधा प्राप्त गरेबाट उक्त प्रक्रियालाई अनुचित प्रभावमा राखेर परिचालित गरेको पाइयो । यसैगरी, उमेदवारहरुको परिचय सहित विभिन्न बुथमा फरक फरक र बिकृत नाम तथा हिज्जेसहित फरक पारी पठाइएको पाइयो ।मतदाताहरुले मत दिँदा समेत आफूले चाहेको उमेदवार छनौट गर्न असहज पारिएको, अनलाइन भोटिङमा हस्तक्षेप गरी मतदाताको मत रिफ्लेक्ट नहुने गरी रिजल्ट दिन खोजिएको पाइयो । यसैगरी उपाध्यक्षका एक जना उम्मेदवारले काठमाडौंमा रहेको बुथमा प्राप्त गरेको सम्पूर्ण मतलाई सून्यकरण गरिएको पाइयो ।

वास्तविकता : भेरो कम्पनीलाई निर्वाचन गर्न महेश श्रेष्ठ, आरके शर्मा, केशव पौडेल लगायतको टोलीले दिएको हो । उनीहरुले प्राप्त नतिजालाई प्रमुख निर्वाचन आयुक्तले समेत नहेरी सार्वजनिक गर्नु पर्ने सर्त भेरोलाई दिएका थिए । भेरोबाट प्राप्त नतिजामा भएको सामान्य गल्तीलाई तत्कालै सच्याएर परिणाम घोषणा गर्दा डा. केशव पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए ।

३. मत परिणाम सार्वजनिक गर्ने नाममा अध्यक्ष, महासचिव लगाएत सिंगल पदका उम्मेदवारले पाएको कुल र नो भोटको संख्या कहिँ कतै तालमेल नभएको पाइयो ।

वास्तविकताः भेरेले दिएको अन्तिम नजिताको तथ्यांकले कुल खसेको मत संख्या एउटा पनि तलमाथि परेको देखिन्न् । फेसभेरिफिकेशन भएको कारणले भोट तलमाथि हुने अवस्था थिएन् ।

४. निर्वाचन आचारसंहिता बमोजिम तोकिएको समयभित्र जुममा प्रवेश गरेका व्यक्तिहरुलाई मतदानको प्रक्रियामा सहभागी नगराइएको पाइयो । यसरी मतदानबाट वञ्चित गरिएका मतदाताहरुको संख्या ५४ जना भन्दा बढी भएको र यो संख्या सम्पूर्ण निर्वाचन परिणामलाई फरक पार्न सक्ने संख्या भएकोले यो निर्वाचन स्वीकार्य हुन नसक्ने देखियो ।
वास्तविकताः निर्वाचन समितिले तोकिएको समयमा निर्वाचन क्षेत्र (जुम समेत) मा प्रवेश गरेका सबै जनाको परिचयपत्र (फेसभेरिफिकेशन समेत) चेक गरेर सबैलाई मतदानमा सहभागी गराईएको थियो ।

५. कतिपय मतदाताहरुले मतदान गर्ने क्रममा फेस भेरिफेकसन गर्दा प्रक्रिया अगाडि बढे पनि पहिला नै मतदान गरिसकेको भन्ने सूचना मोबाइलमा आएको पाइयो । जुन निर्वाचनको प्रक्रियागत त्रुटीको रुपमा लिइएको छ । जस्तो विश्व बराल, टिकाबहादुर कार्की, सिता सापकोटा, गोविन्द श्रेष्ठ (रोविन्द) आदि ।

वास्तविकताः यी माथि उल्लेखित व्यक्तिहरु निर्वाचन पराजित समूहमा सकृय थिए । यस्तो कहिकतै प्रमाणीत हुन नसक्ने दावी गरिएको छ । यो सबै फर्जी दावी हो ।

६. अध्यक्षका एक उम्मेदवार डा. बद्री केसीले भेरो भोटिङ र निर्वाचन समितिका काम कारबाहीको विषयमा प्रश्न उठाउँदा सम्बन्धित पक्षले उत्तर दिनुको साटो उम्मेदवार केसीले नै जवाफ दिने गरेको पाइयो । यसले निर्वाचन समिति भेरो भोटिङ र उम्मेदवार केसीको बीचमा अनुचित सेटिङ कायम भएको देखियो ।

वास्तविकताः भेरो कम्पनीसंग सेटिङ महेश श्रेष्ठ, आरके शर्मा, डा. केशव पौडेल लगायतले गरेको हो । उनीहरुले नै भेरोलाई भोटिङ गर्न अनुमति दिएका थिए । यसमा डा. बद्री केसीको कुनै संलग्नता देखिन्न् ।

७. उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा प्रयोग गरिएको नाम र स्पेलिङको आधारमा मतदान प्रणालीमा नाम प्रविष्ट गर्ने तथा त्यसको टेस्टिङ गर्नु पर्नेमा त्यसो नगरी तेस्रो पक्ष र निर्वाचन समितिले गम्भीर कुरालाई पनि हल्कारुपमा लिएको पाइएको, जुन निर्वाचनलाई असर पार्ने प्रमुख कारकको रुपमा देखियो ।

वास्तविकताः उम्मेदवारहरुको प्रराम्भिक नामावली निर्वाचन समितिले प्रकाशन गरेको थियो । उनीहरुलाई स्पेलिङ तथा योग्यतामाथि दावी विरोध गर्नको अवसर दिइएको थियो । आरके – महेश समूहले निर्वाचनका सूचनालाई ध्यानपूर्वक नहेरेको प्रमाणहरुले पुष्टि गर्छ ।

८. नेपालको महाधिवेशनस्थल होटेल सोल्टीमा स्थापना गरिएको निर्वाचन बुथबाट मतदान गर्नु पर्ने नियम बनाइएकोमा आफू खुसी एक उम्मेदवार निकट व्यक्तिहरुलाई मोबाइलबाटसमेत मतदान गर्न दिइएको पाइयो ।

वास्तविकताः होटेल सोल्टीमा स्थापना गरिएको निर्वाचन बुथबाट मतदाताहरु स्वयः उपस्थित भएर मतदान गरेका थिए । मोबाइलबाट छुट्टै मतदान गर्ने कुनै व्यवस्था थिएन् ।

९. सोल्टी होटेलमा मतदान गर्न पुगेका मतदाताहरुको युजर आइडी र पासवर्ड अनधिकृतरुपमा संकलन गरी त्यसलाई दुरुपयोग गरिएको पाइयो ।

वास्तविकताः मतदाताहरुको युजर आइडी र पासवर्डमा अरुको हातमा पर्ने कुनै सम्भवना थिएन् । परिचयपत्रका आधारमा सम्बन्धीत मतदातालाई मात्र उपलब्ध गराइएको थियो । माथि उल्लेख गरिएको दावी काल्पनिक हो ।

१०. रसियाबाट प्रक्रियामा समावेश नभएका केही डेलिगेट्सहरुलाई पनि मतदान प्रक्रियामा भाग लिन लगाइएका गुनासोहरु आएको छ ।

वास्तविकताः अन्य देशहरुमा जस्तै रसिया राष्ट्रिय समितिबाट समेत प्रतिनिधिहरु प्रकृया पुरा गरेर मतदानमा सहभागी भएका थिए । उनीहरुको फेसभेरिफिकेशन पंन्जिकृत सदस्यता लिनेक्रममै गरिएको थियो । प्रकृयामा समावेश नभएका प्रतिनिधिहरुले मतदानमा भाग लिन सक्ने कुनै सम्भवना थिएन् ।

निष्कर्ष : सत्ता, शक्ति र पैसांको चरम दुरुपयोग गरेर निर्वाचनमा होमिएका शर्मा र श्रेष्ठको समूहले निर्वाचनको पराजयलाई स्वीकार गर्न केही दिन लाग्ने देखिन्छ । संघका अध्यक्ष डा. बद्री केसीले निर्वाचनमा कुनै पनि अनिमियता देखिए पद त्याग गर्ने घोषणा गरेका छन् । निर्वाचनमा विश्वभरबाट मतदान गरेका मतदाताहरुले नजितालाई स्वागत गरेका छन् ।