२३ बैशाख २०८१, आईतवार
Follow Us

पत्रकारद्धय पौडेल र लामिछाने बेलायतमा सम्मानित

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०८०, आईतवार १५:४८

लन्डन । नेपालका दुईजना पत्रकार लन्डनमा सम्मानित भएका छन् ।

बेलायत भ्रमणमा रहेका नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले आइतवार लन्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गरे ।

पौडेल नागरिक न्यूजमा आवद्ध छन् भने लामिछाने कान्तिपुर टेलिभिजनमा राजनीतिक व्यूरोमा काम गर्छिन् । उनले गैरआवासीय नेपाली संघ स्थापनाको दुई दशकमा ल्याइएका नीतिगत तथा कानुनी व्यवस्था र उपलब्धि विषयमा अनुसन्धानमुलक रिपोर्ट लेखेर एनआरएनए फेलोसिप पुरस्कार समेत प्राप्त गरेकी थिइन् । उनी संसदीय मामिला पत्रकार समाजको सदस्य समेत हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, नेपाली जनसम्पर्क समिति साउथइष्ट लण्डनका सभापति राजेन्द्र खरेल, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व उपमहासचिव अर्जुन कटुवाल, नेपाली जनसम्पर्क समिति बेलायतका महासचिव कुश बस्नेत, एनआरएनए पूर्व केन्द्रीय सदस्य लिलादेवी गुरुङ, जनसम्पर्क समिति भारतका पूर्वअध्यक्ष हरि कुमार मल्ल, नेपाल पत्रकार महासंघ युरोप शाखाका संस्थापक सदस्य बाबुराम भुषाल लगायतको उपस्थिति थियो ।

शाखा अध्यक्ष विपिन निरौलाको सभापतित्वमा भएको कार्यक्रम शाखाका केन्द्रीय पार्षद कुस बस्नेतले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रवासमा बस्ने नेपाली समुदायको पक्षमा पत्रकारितामार्फत आवाज बुलन्द गरिदिन आग्रह गरेका थिए ।