२० बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. महत भेटघाटमा व्यस्त

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०८०, सोमबार २१:३८

लण्डन । बेलायत भ्रमण रहेका अर्थमन्त्री प्रकाशसरण महत उच्चस्तरिय भेटघाटमा व्यस्त छन् ।

नेपाली दुतावास लण्डनका अनुसार अर्थमन्त्री डा. महतले डोल्मा इम्प्याक्ट फण्ड र नेपाली दूतावासको संयुक्त आयोजनामा सोमवार गिल्डहल लण्डनमा नेपालको नवीकरणीय ऊर्जा विकासका लागि दीर्घकालीन वित्तिय विकल्पहरू बारेको उच्चस्तरीय व्यापार सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गरे ।

डा. महतले नेपालले विकासलाई पहिलो प्राथमिकतामा राखेको चर्चा गर्दै तीव्र आर्थिक वृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताए ।

उनले नेपाललाई जलविद्युत क्षेत्रमा ठूला आयोजना कार्यान्वयन गर्न पर्याप्त स्रोतसाधनको आवश्यकता रहेको र सबै प्रकारका दीर्घकालीन वित्तिय विकल्प खोज्ने बताए ।

उनले विदेशी लगानी आकर्षित गर्न सरकारले गरेको वर्तमान सुधार र मुनाफा फिर्ताको ग्यारेन्टी, ऋण तिर्न नसके के गर्ने लगायतका विषयमा जानकारी दिए ।

उनले नवीकरणीय ऊर्जा आयोजनाको विकासका लागि सरकारले आवश्यक कानुनी, नीतिगत र संस्थागत व्यवस्था, हेजिङको व्यवस्था र कन्ट्री रेटिङ प्रक्रियाको थालनी गरिरहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विश्वको प्रमुख वित्तीय केन्द्रका रूपमा लण्डनले हरितगृह ग्याँस उत्सर्जन घटाउन मात्र नभई नेपालको प्राथमिकतामा रहेका जलविद्युत क्षेत्रमा विश्वव्यापी पुँजी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

डोल्मा इम्प्याक्ट फण्डका अध्यक्ष टिम गोचर, स्ट्याण्डर्ड चार्टर्ड बैंकका अदिल अन्सारी, लर्ड मेयर इलेक्ट प्रोफेसर माइकल मैनेली, एमयूएफजीका क्रिस्टोफर माक्र्सले विभिन्न वित्तिय विकल्पहरूमा आआफ्ना भनाई राखे

नवीकरणीय उर्जाका विज्ञ निक डनलपले विश्वव्यापी पूँजी बजार र प्रमुख संस्थागत लगानीकर्ताहरूबाट लगानी कसरी आकर्षित गर्ने भन्ने बारे आफ्नो विचार राखे ।

उनीले नेपालले संस्थागत लगानीकर्ताहरुलाई उचित प्रोत्साहन दिन सुझाव दिए ।

कार्यक्रममा बेलायतको परराष्ट्र मन्त्रालयकी उपनिर्देशक लेस्ली क्रेग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीलगायतको उपस्थिति रहेको थियो ।

उत्पादक संघका अध्यक्ष कार्कीले नेपालको नवीकरणीय उर्जाको बृद्धिको लागि दीर्घकालीन वित्तिय विकल्पका बारेमा पनि आफ्नो धारणा व्यक्त गरे ।

यस्तै मन्त्री डा. महतले बेलायतको सोमवारनै बेलायतको ट्रेजरी विभागको अवलोकन गरेका छन् । सो अवसरमा मन्त्री डा. महतले वर्तमान सरकारको विकास प्राथमिकताका बारेमा जानकारी दिँदै विभिन्न क्षेत्रमा विशेषगरी नवीकरणीय ऊर्जामा उल्लेख्य लगानी गर्नुपर्नेमा जोड दिए ।

नेपालको विकासमा बेलायती सरकारको सहयोगको प्रशंसा गर्दै उनले आगामी दिनमा आर्थिक वृद्धिलाई तीव्रता दिन र अर्थतन्त्रलाई रूपान्तरण गर्न महत्वपूर्ण हुने जलवायु वित्तमा थप सहयोगको लागि अनुरोध गरे।

यस्तै, मन्त्री डा. महतले भूतपूर्व गोरखा सङ्गठनका प्रतिनिधिसँग लण्डनस्थित नेपाली दुतावासमा भेटघाट गरेका छन् । उनले गोर्खासम्बन्धी द्विपक्षीय समितिको जारी बैठकले गोर्खा सैनिकका गुनासो सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री डा. महतको स्वागत तथा सम्मानको लागि नेपाली दूतावास लण्डनले सोमवार साँझ दूतावास भवनमा एक कार्यक्रमको आयोजना गरेको थियो ।

सो स्वागत समारोहमा बेलायती सांसद, नेपाली डायस्पोराका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति थियो ।

डा. महतले मंगलवार नेपालमा लगानी सम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रमतय भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।