१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रिन्सिपल हत्या प्रकरण : पूर्व शिक्षिकासहित ६ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८०, मंगलवार ०६:५०

काठमाडौँ । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ।

तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताएका छन्।

पक्राउ पर्नेहरूमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत रहेको बताइएको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन। सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भारततिर भागेको प्रहरीले जनाएको छ।

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।