१० असार २०८३, बुधबार
Follow Us

पत्रकार महासंघ यूके विवादः छुट्टाछुट्टै स्थापना दिवस मनाउने तयारी

नेपालब्रिटेन संवाददाता
१० असार २०८३, बुधबार १८:१९

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाभित्र सदस्यता वितरण, निर्वाचन प्रक्रिया र सल्लाहकार मनोनयनलगायतका विवाद समाधान हुन नसकेपछि दुई समूहले छुट्टाछुट्टै रूपमा स्थापना दिवस मनाउने तयारी गरेका छन्।

शाखाकी अध्यक्ष बिमला सेने नेतृत्वको समूहले आगामी जुलाई १० तारिख स्थापना दिवस मनाउने घोषणा गरेलगत्तै संस्थापकहरूको समूहले पनि सोही दिन छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

विवाद समाधानका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय समितिले दिएको सुझावलाई सेने पक्षले कार्यान्वयन गर्न अस्वीकार गरेपछि संस्थापक समूह अलग्गै रूपमा स्थापना दिवस मनाउन बाध्य भएको संस्थापक सदस्य विपिन निरौलाले बताए।

१५ वर्षअघि स्थापना भएको उक्त शाखाले प्रत्येक वर्ष जुलाई १० लाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। मंगलबार सम्पन्न संस्थापकहरूको भर्चुअल बैठकले यस वर्ष पनि जुलाई १० तारिख दिउँसो २ बजेदेखि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले स्थापना दिवस मनाउन विपिन निरौलालाई संयोजक तोकेको छ।

संयोजक निरौलाले आफूहरूको चाहना विवाद गर्नु नभएको तर परिस्थितिले छुट्टै कार्यक्रम गर्न बाध्य बनाएको बताए। उनले भने, “हामी विवाद नगर्ने पक्षमा थियौं। तर महासंघको शाखा दाबी गर्ने समूहले केन्द्रको परिपत्रसमेत नमानेपछि सँगै स्थापना दिवस मनाउने वातावरण बनेन। त्यसैले हामी छुट्टै कार्यक्रम गर्दैछौं।”

उनले संस्थाका अधिकांश संस्थापकहरूको सदस्यता समेत खोसिएको दाबी गर्दै बेलायतमा कार्यरत पत्रकारहरूलाई पुनः एकजुट गराउने प्रयासमा आफू लाग्ने बताए।

निरौलाका अनुसार उक्त कार्यक्रम महासंघ केन्द्रको परामर्शमा आयोजना हुन लागेको हो। यूकेमा पत्रकारहरूको संस्था स्थापना गर्ने पहिलो प्रयास सन् २००९ मा गरिएको भए पनि सफल हुन सकेन। सन् २०१० मा पुनः गरिएको पहलबाट वर्तमान नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापना भएको हो।

स्थापनाका बेला शाखामा ८१ जना पत्रकार आबद्ध थिए भने हाल ३९ जना पत्रकार मात्र आवद्ध रहेका छन्। शाखाको पहिलो अधिवेशन १४ जनवरी २०१२ मा तत्कालीन केन्द्रीय अध्यक्ष शिव गाउँलेको उपस्थितिमा सम्पन्न भएको थियो।

संस्थापक सदस्यहरूमा धर्मराज अधिकारी, नारायण गाउँले, दिनेश परियार, विपिन निरौला, चिरन शर्मा, नरेश खापाङ्गी मगर, नारायण भण्डारी, हरि कुमार गुरुङ (काजी), मिलन ज्ञानवली, श्याम लुइटेल, होम परियार, रमा लामिछाने, देवी गौतम, ईश्वर रिजाल, बाल मुकुन्द जोशी, शशी पौडेल, नवीन पोखरेल र प्रविन गुरुङ रहेका छन्। शाखाका संस्थापक सल्लाहकार भगिरथ योगी हुन्।

यसअघि शाखाको पछिल्लो निर्वाचन फर्जी भएको दाबी गर्दै केन्द्रमा उजुरी परेपछि महासंघकी अध्यक्ष निर्मला शर्माको निर्देशनमा भगिरथ योगीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले सदस्यता वितरण र निर्वाचन प्रक्रियामा त्रुटि रहेको निष्कर्ष निकाल्दै सबै पक्षलाई समेट्ने गरी सुझाव प्रस्तुत गरेको थियो।

धेरै पढिएको