२९ भाद्र २०८१, शनिबार
Follow Us

पर्वतारोही निर्मल पूर्जाले लिए गैर-आवासीय नागरिकता

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०८०, बिहीबार १३:४८

हेलिकप्टर चार्टर गरी जन्मथलो म्याग्दीमा

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) ले हेलिकप्टर चार्टर गरी जन्मथलो म्याग्दी आएर बिहीबार गैर आवासीय नेपाली नागरिकता बनाएका छन्।

बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिएका पूर्जा गैर आवासीय नेपाली नागरिकता लिन काठमाडौँबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आएका थिए।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैर आवासीय नागरिकता हस्तान्तरण गरेका थिए।

‘गैर आवासीयलाई नागरिकतामा सहज पहुँचको सुविधाबाट उत्साहित भएको थिए, दसैँ अगाडी नै लिन आवेदन दिएको थिए’ पूर्जाले भने।

उनले आफ्नो देश नेपालको नाम चिनाउने अभियानमै रहेकाले नागरिकतामा सहजताका लागि नेपाल सरकारलाई समेत धन्यवाद दिए।

गैर आवासीय नागरिकताले मातृभूमिप्रति गौरवान्वित भएको बताउँदै नागरिकताको सुविधाले गैर आवासीय नेपालीको लगानी भित्राउन समेत सहज हुने उनको भनाइ थियो।

जन्मभूमि म्याग्दीमै रहेका धौलागिरि र अन्नपूर्ण हिमालबाट ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न कीर्तिमानी समेत राखेका पूर्जाले हालै संसारको अग्लो सगरमाथा हिमालबाट स्काइ डाइभ समेत गरेका थिए।

उनले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने कीर्तिमानी समेत कायम गरेका छन्।

नागरिकता लिएपछि बेनीमा १५ मिनेट बिताएका पुर्जा हेलिकप्टरबाटै अमादम्बा हिमालतर्फ लागेका थिए। सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कात्तिक १७ गतेदेखि गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो। हालसम्म ४ जनाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको प्रजिअ पौडेलले बताए। ४० जनाले गैर आवासीय नेपाली नागरिकताका लागि निवेदन पेश गरेको प्रजिअ पौडेलले जनाए।

गत जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउने व्यवस्था रहेको छ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।

नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ।

गैर आवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने सहायक प्रजिअ धिरेन्द्रराज पन्तले बताए।