१२ श्रावण २०८१, शनिबार
Follow Us

विदेशस्थित ३८ वटा कूटनीतिक निकायबाट राहदानी जारी

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८०, बिहीबार ०५:२०

काठमाडौं । विदेशस्थित ३८ वटा कूटनीतिक निकायबाट राहदानी जारी गर्ने गरिएको गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दैनिक झन्डै ६ हजार राहदानी छपाई हुने गरेको छ । यसबाहेक अहिले विभागले २४ सै घण्टा फारम भर्न मिल्ने बनाएको छ ।

अनलाइन आवेदनको कोटा थपेर तीन दिनमै राहदानी पाउने गरी समस्या समाधान गर्न खोजे पनि सर्भर डाउन हुने र म्यासेज नपाउनेजस्ता प्राविधिक समस्या अझै छ । पासपोर्ट सुरक्षा तथा सेवा प्रवाहलाई मध्यनजर गर्दै विभागमा सुधार गर्ने क्रम जारी रहेको र प्राविधिक त्रुटिलाई पनि बिस्तारै समाधान गर्ने विभागको भनाइ छ ।

एक समय थियो-राहदानी बनाउन सेवाग्राहीहरू रातभर राहदानी विभागमा लाइन लाग्थे । अनलाइनमा समय पाउन पनि महिना दिनसम्म कुर्नुपर्ने अवस्था थियो भने राहदानी विभागमा भीड छिचोलिनसक्नु हुन्थ्यो । तर, सरकारको पटक-पटकको चासो र हस्तक्षेपपछि अहिले राहदानी लिन केही सहज भएको छ । ३ दिनमै राहदानी पाउने अवस्था रहे पनि प्राविधिक त्रुटिलाई भने विभागले अझै पूर्ण रूपमा सुधार गर्न सकेको छैन ।

राहदानीका लागि अनलाइनबाट समय पाउनै एक महिनासम्म लाग्ने र पाइहाले पनि राहदानी लिनै कम्तीमा पनि १० दिन लाग्ने अवस्था विगतमा थियो । तर, त्रिपुरेश्वरस्थित विभागसहित ७७ वटै जिल्ला प्रशासन तथा १७ वटा इलाका प्रशासन कार्यालयमार्फत जारी गरिनुका साथै दैनिक कोटासमेत वृद्धि गरेपछि अहिले राहदानी वितरण सहज भएको छ । हाल विभागमा ३ दिनभित्रै राहदानी हात पर्ने गरेको सेवाग्राही बताउँछन् ।