१५ बैशाख २०८१, शनिबार
Follow Us

श्रम र भिजिट भिसामार्फत रुस पुगे २९ सय जना नेपाली, चार नेपालीले ज्यान गुमाए

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०८०, बुधबार ०१:४०

काठमाडौँ — युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना नेपाली रुस गएको देखिन्छ । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।