१२ श्रावण २०८१, शनिबार
Follow Us

वायु प्रदूषणबाट हुने जोखिम रोक्न काठमाडौँसहित विश्वका ८ शहरको प्रतिबद्धता

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०८०, बिहीबार ०६:५२

काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौँसहित विश्वका आठ ठूला शहरका प्रमुखहरूले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ सम्मेलन (कोप-२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज)को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरूले जुम बैठकमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धता जनाउने शहरहरुमा काठमाडौँ महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इण्डोनेसियाको जाकार्ता, बङ्गलादेशको ढाका, रवंदाको किगाली र उगान्डाको काम्पला छन् ।

प्रमुखहरूले बुधबार साँझ सार्वजनिक एक संयुक्त प्रतिबद्धता भनेका छन्, ‘जनसङ्ख्याको आकार र चुनौतीहरूसँगको निकटताले शहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप-२८ मा विश्व नेताहरू भेला भइरहँदा हामी विश्वभरका शहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू गर्न र आफ्ना नागरिकको जीवनस्तर सुधार गर्न तथ्याङ्कमा आधारित सार्वजनिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्न आह्वान गर्दछौँ ।’

प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताएका छन् । समुदायलाई सचेत बनाउँदै प्रदूषण न्यूनीकरणमा उत्तरदायी बनाउन लक्षित कार्यक्रमहरू सञ्चालनका क्रममा रहेको उनले बताएका थिए । बङ्गलादेशको ढाका उत्तर नगरका प्रमुख मोहम्मद अतीकुल इस्लामले आफ्नो सहरले प्रदूषण मापन यन्त्रहरू जडान गरेर वायु गुणस्तर निगरानीलाई थप बलियो बनाउँदै प्रभावकारी जनस्वास्थ्य नीति अवलम्बनको क्रममा रहेको बताएका छन् ।

रोमानियाँको बुखारेस्ट नगरका प्रमुख निकुसर दानले वायु प्रदूषणसम्बन्धी तथ्याङ्कमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रदूषण मापन यन्त्रहरूको तथ्याङ्क अनलाइनमा हेर्न मिल्ने ड्यासबोर्ड सन् २०२३ को सेप्टेम्बरबाट सञ्चालनमा ल्याइएको जानकारी दिए । रुवाण्डाको किंगाली नगरका प्रमुख पुडेन्स बिङ्गिसाले वायु प्रदूषणको प्रभाव मूल्याङ्कन गर्ने योजना बनाएको, कार फ्री डे र कार फ्री जोन निर्धारण गरिएको जनाए ।

युगान्डाको कम्पाला महानगरका प्रमुख एरियास लुक्वागोले उपलब्ध प्रमाणहरूको समीक्षा गरिरहेको, वायु प्रदूषण र यससँग सम्बन्धित स्वास्थ्य घटनाको स्थानीय सम्बन्ध विश्लेषण गरिरहेको बताए ।

अमेरिकाको सिकागो सहरका प्रमुख ब्रान्डन जोन्सनले आफ्नो सहरले समुदाय स्तरमा वायु प्रदूषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेका छन् । वायु प्रदूषणको अवस्था ठाउँअनुसार फरक हुने भन्दै उनले अनुगमन रणनीतिका बारेमा समुदाय स्तरमा समान बुझाइ विकास गर्न ध्यान दिएको बताए ।

यसैगरी ब्राजिलको फोर्टालेजा नगरका प्रमुख जोसे सार्टाले नगरवासीको स्वास्थ्यमा प्रदूषणको प्रभावबारे आँकलन गर्न अध्यादेश ल्याएर काम गरिएको बताए । यस्तै इण्डोनेसियाको जकार्ता नगरका गभर्नर हेरु बुडी हार्टोनोले जनचेतनाका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएका छन् ।