२३ बैशाख २०८१, आईतवार
Follow Us

बागलुङबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०८०, शुक्रबार ०९:४०

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले २२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका गलकोट नगरपालिका-२ नरेठाँटी निवासी ५५ वर्षीय खेम भण्डारीलाई बिहीबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो।

पाण्डेलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकता प्रदान गरे। अमेरिकाको नागरिकता पाएपछि भण्डारीले नेपाली नागरिकता त्यागेका थिए। उनकी पत्नी मिरा र २ छोरीले पनि अमेरिकाको नागरिकता लिएका छन्। पुर्ख्यौली सम्पत्ति भए पनि बेचबिखन नगरेका भण्डारीले आफन्त नेपालमै भएकाले चाडपर्वत र बेला-बेलामा नेपाल आउन आउने गरेको बताए।

यस्तै बिहिबार नै २५ वर्षदेखि बेल्जियममा बस्दै आएका बागलुङ नगरपालिका-४ का यादव शर्माले पनि एनआरएनए नागरिकता लिएका छन्। अन्य गैर आवासीय नेपालीहरूले पनि गैर आवासीय नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा निवेदन दिएका प्रजिअ रिजालले बताए।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ। नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानुनी व्यवस्था छ।