पोर्चुगलमा रहेका नेपालीहरूको विभिन्न घटना तथा कालगतिले मृत्यु हुनेको सङ्ख्या मासिक ५ भन्दा बढी रहेको बताइएको छ । सन् २०२५ मा मात्रै ६२ जनाभन्दा बढीको मृत्यु भएको छ । सवारी दुर्घटना, आत्महत्या, समुद्रमा डुबेर मर्नेहरूको सङ्ख्या धेरै देखिएको छ । यसरी मृत्यु हुने नेपालीहरूको परिवार र आफन्त यतै भएका र आर्थिक अवस्था राम्रो भएकाहरूको बाहेक सबैको शव नेपाल नै लगिँदै आएको छ ।
लिस्बनस्थित नेपाली राजदूतावासले एक वर्षको अवधिमा २६ वटा लास नेपाल फिर्तीका लागि सहजीकरण गरेको थियो । १४ अप्रिल २०२५ देखि १३ अप्रिल २०२६ को अवधिमा पोर्चुगलमा निधन भएका नेपालीहरूमध्ये २६ वटा शवको अन्तिम संस्कारका लागि नेपाल पठाउन सहजीकरण गरेको राजदूतावासका प्रवक्ता तथा नियोग उपप्रमुख शत्रुध्वन पोखरेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक सहयोगबाहेक अन्य कानुनी र कागजातसम्बन्धी सहयोग मृतकका परिवारलाई राजदूतावासले प्रदान गर्दै आएको छ । श्रम स्वीकृति लिएर विदेश रहेका नेपालीको मृत्यु भएको हकमा मात्रै शव फिर्ताका लागि सरकारले आर्थिक सहयोग गर्ने कानुनी प्रावधान रहेकाले पोर्चुगलमा मृत्यु भएकाहरूको हकमा सरकारका तर्फबाट आर्थिक सहयोग प्राप्त हुँदैन ।
युरोपेली जुनसुकै मुलुकको भ्रमण, अध्ययन, व्यापार वा अन्य भिसा लिएर पोर्चुगल आई नेपालीहरू बसोवास गर्दै आएका छन् । सन् २०२५ को अन्त्यसम्मको तथ्याङ्कमा पोर्चुगलका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन हजार पनि नरहेको पोखरेलको भनाइ छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरका अनुसार पोर्चुगलमा मासिक कम्तीमा ५ जनाको मृत्यु भइरहेको छ । उनका अनुसार अघिल्लो वर्ष सन् २०२५ मा मृत्यु हुनेको तथ्याङ्कलाई केलाउँदा मात्रै पनि यो सङ्ख्या निस्किएको हो । निधन भएकामध्ये कोही-कसैको अन्तिम संस्कार मात्रै यता हुने गरेको र सम्भव भएसम्म परिवारले शव नेपाल नै झिकाउने उनी बताउँछन् ।