११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बाइस वर्ष देखि बन्द रहेको क्यान्सर अस्पताल सञ्चालन हुँदै

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०८०, शुक्रबार ०९:५८

काठमाडौँ । पर्वत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालनका लागि बातावरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले क्यान्सर, मिर्गौला तथा सरुवा रोग सचेतना शिविर सञ्चालन गर्ने भएको छ ।

आगामी ९ पुसमा हुने शिविरका लागि फाउण्डेशनलले एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकासंगै पर्वत उद्योग बाणिज्य संघ पैयुँ उपशाखा र राजेन्द्र अञ्जना फाउण्डेशनसंग सहकार्य गरेको छ ।

‘पर्वतका जनतालाई विभिन्न रोग र त्यसमा पनि विशेषगरी प्रमुख नसर्ने रोगहरुको रुपमा परिचित क्यान्सर, मिर्गौला तथा सरुवा रोगबारे काठमाडौँबाट जाने विशेषज्ञहरु मार्फत परीक्षण, उपचार तथा सचेनाका सम्वन्धी कार्यक्रम हुनेछ,’ एनआरएएन नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाका एवं अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधब मरासिनीले भने, ‘पर्वतका पैयुँ बासीलाई गाउँमै गएर सेवा दिने कुरा आफैमा खुशीको कुरा हो ।’

शिविरका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका बरिष्ठ जनरल फिजिसियन प्राडा भरतकुमार यादव, पाटन अस्पतालकै मेडिकल अंकोलोजिष्ट डा अरुण शाही र फिजिसियन डा प्रतिमा पाण्डे, डा शालमली यादव, मिर्गौला रोग विशेषज्ञ डा विमल पाण्डे तथा टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको सहभागिता हुने बताइएको छ ।

फाउन्डेशनले गत वर्ष ६ पुसका दिन चितवनको माडी नगरपालिका स्थित बघौडा अस्पतालमा क्यान्सर तथा सरुवा रोग परीक्षण, उपचार तथा सचेतना शिविर सञ्चालन गरेको थियो ।