११ श्रावण २०८१, शुक्रबार
Follow Us

जाजरकोटमा भूकम्पपछि चिसोले ३४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८०, शनिबार ०६:४४

काठमाडौं । डेढ महिनामा जाजरकोट भूकम्पका ३४ जना पीडितले चिसो र झाडापखालाका कारण ज्यान गुमाएका छन् । भूकम्पले बास गुमेपछि त्रिपालमुनि बस्दै आएका जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जना जनाको चिसो र झाडापखालाले ज्यान गएको हो ।

जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते मध्यरातमा भएको भूकम्पपछि पीडितहरू त्रिपालमुनि रात काट्न बाध्य छन् । बढ्दो चिसोले उनीहरूको दैनिकी कष्टकर बनेको छ ।

चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेको छन् । भेरी अस्पतालमा दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै झन्डै ५५ हजार परिवार घरबारविहीन छन् भने दुवै जिल्लामा झन्डै ५ हजार अस्थायी आवास निर्माण भएका छन् ।