१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालब्रिटेन संवाददाता
८ पुष २०८०, आईतवार १३:३७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, वडाध्यक्ष कामेश्वर कापर, ठेकेदारहरू मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले बताएका छन् ।

त्यस्तै सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैँसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

ठेकेदारहरूले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर गाउँपालिका-१ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत ब्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको प्रवक्ता आचार्यले बताए ।