१२ श्रावण २०८१, शनिबार
Follow Us

बेलायती अर्बपति रेटक्लिफले किने युनाइटेडको २५ प्रतिशत सेयर

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार ०६:३३

लन्डन । बेलायती अर्बपति जिम रेटक्लिफ इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत सेयर खरिद गर्न सहमत भएका छन् ।

क्लब मालिक ग्लेजर परिवारले स्वामित्व बेच्न चाहेको घोषणा गरेको १३ महिनापछि पेट्रो केमिकल्स कम्पनी इनियोस हिस्सेदार बन्न आएको हो । इनियोस ग्रुपका अध्यक्ष रेटक्लिफले क्लबको सञ्चालनमा नियन्त्रण गर्ने जनाइएको छ ।

कम्पनीले एक दशमबल तीन बिलियन डलरमा सेयर खरिद गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । कतारका शेख जेसिम बिन हमाद अल थानीले क्लबको शतप्रतिशत सेयर किन्ने प्रयास गरेका थिए । तर उनले गत अक्टोबरमा बिडिङ प्रक्रियाबाट हात झिके ।

अमेरिकी ग्लेजर परिवारले सन् २००५ मा ७ सय ९० मिलियन पाउन्डमा युनाइटेड किनेको थियो । इनियोसले तीन सय मिलियन डलर क्लबमा लगानी गर्ने उल्लेख गरिएको छ । म्यानचेस्टरमा जन्मिएका ७१ वर्षीय रेटक्लिफले आफू जीवनभर युनाइटेडको समर्थक रहेको बताए । इनियोस समूहले फ्रेन्च लिग वान क्लब निसको पनि स्वामित्व लिएको छ । यस्तै स्विस सुपर लिग साइड एफसी लुसेन स्पोर्ट, आइभरी कोस्टको रेसिङ क्लब लगायतका खेलकुदका अन्य क्लबहरुमा पनि लगानी गरेको छ ।

हाल युनाइटेडले मैदान भित्र पनि संघर्ष गरिरहेको छ । उसले सन् २०१३ यता प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । क्लबको वातावरण राम्रो नभएको भन्दै समर्थकले लगातार ग्लेजर परिवारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । जारी लिगमा युनाइटेड १८ खेलबाट २८ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।