१२ श्रावण २०८१, शनिबार
Follow Us

आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
९ पुष २०८०, सोमबार १३:१९

धनुषा । आरती साह मृत्यु प्रकरणमा विगत १८ दिनदेखि फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहलाई सोमबार बिहान जनकपुरको सीताचोकस्थित होटल सगुनबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई आवश्यक प्रक्रिया पुर्‍याएर थुनामा पठाइने प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो ।

न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए ।

गत जेठ ७ गते जनकपुर ९ स्थित आफ्नै घरमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइतीपक्षले जाहेरी दिएपछि आरतीका पति मोतीबाबु र ससुरा मदनमोहनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उच्च अदालत जनकपुरले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा सर्वोच्चले मंसिर २० गते थुनामा पठाउने आदेश दिएको थियो ।

आरतीको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनका माइतीपक्षले लामो समय काठमाडौंमा धर्ना दिएका थिए ।