१२ श्रावण २०८१, शनिबार
Follow Us

प्रचण्ड सरकारमा मन्त्रीहरु फेरिँदै

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार ०५:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिमण्डलका सदस्य हेरफेर गर्ने भएका छन् ।

आफू प्रधानमन्त्री भएको एक वर्ष पुगेका अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले कार्यक्षमता कमजोर भएका मन्त्री हटाउने स्पष्ट संकेत गरे । काम गर्न नसक्ने मन्त्रीहरुले आफैं बाटो खुला गरिदिनुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले वर्तमान सरकारलाई अफसल हुने छुट नभएको बताए । उनले सफल हुनकै लागि कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफी दिन सक्ने अवस्थामा आफू नरहेको स्पष्ट गरे ।

‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु । हामीलाई असफल हुने छुट छैन’, प्रधानमन्त्रीले भने, ‘कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ ।’

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति कसैका लागि दिएको उपदेश मात्र नभई बाचासमेत भएको उल्लेख गरे । प्रधानमन्त्रीले सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले समेत पद ओगटिरहन जरूरी नभएको बताए ।