‘कांग्रेस केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य गरी ४० जनाको घर पूरै ध्वस्त’
काठमाण्डौं । जेन–जी प्रदर्शनकारीमाथि सरकारले भाद्र २३ गते गरेको बर्बर दमनको प्रतिशोधमा भएको विध्वंसको निसाना सरकारी भवनदेखि नेताका घरसम्म परेका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर आगो लगाएर पूर्ण रुपमा नष्ट गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवा र उनकी श्रीमती निवर्तमान परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भौतिक आक्रमण गरेर सख्त घाइते बनाएको र अहिले दुवैको उपचार भइरहेको उनले बताए।
महामन्त्रीद्वय गगन थापाको काठमाडौँ र विश्वप्रकाश शर्माको काठमाडौँको भाडामा लिएको घर तथा झापाको घर पूर्णरुपमा नष्ट भएको छ। यस्तै प्रकाशमान सिंहको घर र त्यहाँ पार्किङ गरिराखिएका ४ वटा गाडी, रमेश लेखकको घर पनि आगजनीले ध्वस्त भएको छ।
‘केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य गरी ४० जनाको घर पूरै ध्वस्त भएको अहिलेसम्म जानकारी प्राप्त भएको छ। केन्द्रीय कार्यालय पूर्णरुपमा नष्ट भएको उनको भनाइ छ।
एमाले
जेनजी प्रदर्शनकारीको निसानामा परेको अर्को राजनीतिक दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवास खरानी बनाइदिएको उपाध्यक्ष गुरु बरालले बताए।
उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठको जनकपुरस्थित घर जलाइएको छ।
प्रदेश
त्यस्तै, प्रदेशका मुख्यमन्त्रीहरू यमलाल कँडेल, चेतनारायण आचार्य, पोलिटब्युरो सदस्यहरू गोकुल बास्कोटा, महेश बस्नेत लगायत केन्द्रीय, प्रदेशदेखि पालिकासम्मको नेताको घर आक्रमणकारीले तोडफोड र जलाइदिएको बरालको भनाइ छ।
केन्द्रीय कार्यालय खरानी हुँदा थुप्रै महत्त्वपूर्ण दस्तावेज नष्ट भएको बरालको भनाइ छ।
एमालेले प्रत्येक जिल्ला कार्यालयसँग प्रदर्शनकारीले गरेको आक्रमणले र्पुयाएको क्षतिको विवरण माग गरेको उनले बताए।
‘मानसिक क्षति र भौतिक क्षतिले पार्टीलाई अस्थायी धक्का त दिन्छ तर, विचार, नीति संगठन र सिद्धान्त हामीसँग छ। हामी जित्छौँ,’ बरालले भने।
नेकपा माओवादी – २२ जना नेताको घर पूर्ण रुपमा क्षति
जेनजी प्रदर्शनकारीको निसानामा नेकपा माओवादी केन्द्र पनि र्पयो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, चार वटा गाडी पूर्णरुपमा खरानी भएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए। २२ जना नेताको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विवरण आए पनि देशभर निकै ठूलो संख्यामा आगजनी र भौतिक क्षति भएको उनले बताए।
कोटेश्वरस्थित माओवादीको केन्द्रीय कार्यालयका एक अधिकारीले केही बाँकी नरहेको बताए।
अझै विवरण संकलनको काम भइरहेको उनको भनाइ छ। माओवादीको सबै जिल्लामा पार्टी कार्यालय थिएनन्। भवन नभएको ठाउँमा सामान लुटपाट र तोडफोड भएको उनले बताए
माओवादीको केन्द्रीय कार्यालयमा ३ वटा मोटरसाइकल पनि जलाइएको छ।
अन्य नेताहरु
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास, सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पूर्णरुपमा ध्वस्त बनाइएको छ।
घरमा आगो लगाउँदा खनालकी श्रीमती गम्भीर घाइते भएकी छन्। वरिष्ठ नेता राजेन्द्र पाण्डेको धादिङमा रहेको निवास तोडफोड र आगजनी भएको छ।
माधव नेपालको तीन भाइको घरमा आगजनी गरिएको छ। स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको गाडी जलाइएको छ। समाजवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी भएको छ। आगजनीले पार्टीका महत्त्वपूर्ण दस्तावेज जलेर खरानी भएको नेताहरू बताउँछन्।
कुन कुन पार्टी बचे
रास्वपा र राप्रपाको पार्टी कार्यालय र नेताहरूमाथि भौतिक आक्रमण नभएको नेताहरू बताउँछन्।् । आगजनीले तहसनहस भएपछि कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन्। उनीहरू अहिले सेनाको उच्च सुरक्षा घेरामा रहेका छन्।
भाद्र २४ गते नेपालको मुख्य प्रशासनिक केन्द्र नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत तहसनहस पारेका प्रदर्शनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेता र पार्टी कार्यालयमा आगो लगाएर ध्वस्त बनाइदिए।
१९ जना युवा मारिएको आक्रोशमा प्रदर्शनकारीले चारपाँच घण्टाको अवधिमा राजनीतिक पार्टीका कार्यालय मात्र होइन, नेताहरूको घर समेत पूर्णरुपमा क्षति र्पुयाएको नेताहरू बताउँछन्।