११ श्रावण २०८१, शुक्रबार
Follow Us

१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ परे

नेपालब्रिटेन संवाददाता
११ पुष २०८०, बुधबार १३:१३

काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी गरीएको थियो । पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका छन ।

उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिएका छन । ४ कात्तिकमा पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए त्यस पछि उनलाई पनि पक्राउ गरीएको हो ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्र्याउन चाहेका थिए । तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन । मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

अब तत्कालीन रजिस्ट्रार पराजुली र राष्ट्रिय सहकारी बैंक लिमिटेडका घिमिरेसहित पक्राउ पर्नेको सङ्ख्या ३२ जना पुगेका छन् । त्यसमध्ये अध्यक्ष पौडेल र प्रबन्धक अधिकारी बैंकिङ कसुरमा प्रक्राउ परेका थिए ।