काठमाडौं । राष्ट्रियसभा निर्वाचनमार्फत् सत्ता गठबन्धन टुटाउने रणनीति असफल भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय आन्दोलनको उद्घोष गर्न थाल्नुभएको छ ।
सत्ता गठबन्धन टुक्रयाउने रणनीतिमा लगातार असफलता मात्रै हात परेसँगै ओलीले नेतृत्वले फुक्ने सिट्ठीको इशारामा सडकमा आउन कार्यकर्तालाई निर्देशन नै दिइरहनुभएको छ । उहाँको यो संकेत सत्ता गठबन्धनसँग बार्गेनिङकै लागि हो वा गठबन्धन भत्काउन, उहाँले फुक्ने सिट्ठीको ओजनले संकेत गर्ला ।
मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकमा पहिलो पटक सरकारविरोधी सडक आन्दोलनको संकेत गर्नुभएका ओली ५८ औं दिनमा फेरि बोल्नुभयो । माघ ३ गते ६ केन्द्रीय सदस्यको सपथ समारोहमा सडकमा जाने संकेत गर्नुभएका ओलीले ४ गते त कार्यकर्तालाई सिट्ठीको इशारा कुर्न निर्देशन नै दिनुभयो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारका कारण देश बर्बादीको बाटोमा पुगेको भन्दै ओलीले देश जोगाउनलाई पार्टीले सिठी बजाउँदा आन्दोलनका लागि तम्तयार हुन कार्यकर्तालाई निर्देशन गर्नुभयो ।
त्यसो त ओलीले मिसन ग्रासरुट र झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाड समृद्धि यात्रा मार्फत् कार्यकर्ताको मनस्थिति बुझिसक्नुभएको छ । मधेसको सिरहास्थित सर्रे अम्बास बैठकबाटै आन्दोलनको भावभंगी प्रदर्शित गर्नुभएका ओलीको पछिल्ला अभिव्यक्ति एमालेविरुद्धको घेराबन्दी चिर्ने रणनीतिक योजना पनि हुनसक्छ । तैपनि विभिन्न आरोपमा समातिएका आफ्ना नेता कार्यकर्ता जोगाउन सत्ता गठबन्धनका दुई शीर्ष नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग लगातार छलफल गरेको आरोपको ओलीले सार्वजनिक जवाफ दिनुभएको छैन ।
पुस १८ गते राति बालकोटमा माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग अन्तरंग कुराकानीपछि २० गते रास्वपा सभापतिसँग ओलीको लामै छलफल चल्यो । त्यहीबेला राष्ट्रियसभामा ६ सिट लिने र टिआरसीमा साथ दिनेबारे बालुवाटारमा तीन चरणको छलफल भइसकेको थियो । तर गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ठाडै अस्विकार गर्दा हुनै लागेको सहमति पनि भाँडियो ।
त्यसो त ओलीले आन्दोलनको रणनीतिक चाल भने चालिनै रहनुभएको छ । गत मंसिर ७ मा युवासंघले काठमाडौंमा प्रदर्शन गर्यो । मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान पनि भइसकेको छ ।
राष्ट्रियसभामा गठबन्धन भत्काउने रणनीति अन्तरगत प्रचण्डसँग बालुवाटारमा तीन पटक र आफ्नै निवासमा माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र रास्वपा सभापतिसँग भेट गर्नुभएका ओली माओवादीका उपमहासचिव वर्षमान पुनसँग पनि निरन्तर संवादमा हुनुहुन्छ । पुन वाम सहकार्यमा जोड दिने नेता हुनुहुन्छ । ओलीको पछिल्लो छटपटाहटमा मुलुकको चिन्ता देखिए पनि चासो आन्तरिक नै हो ।
बेला बेला आफुले चाहे एक हप्तामै गठबन्धन गर्ल्यामगुर्लुम पार्ने धम्की दिँदै आउनुभएका ओली पछिल्लो तरलतामा खेल्ने मुडमा पुग्नुभएको पक्का हो ।