२ पुष २०८२, बुधबार
Follow Us

प्रतिनिधि नभए पनि लाइनमा पुगेर भोट माग्दै ज्योति मगर

नेपालब्रिटेन संवाददाता
२ पुष २०८२, बुधबार ०६:३८

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानका क्रममा मंगलबार एक रोचक दृश्य देखियो । राजनीतिक रस्साकस्सी र उम्मेदवारहरूको दौडधुपबीच चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर पनि भोट माग्न व्यस्त देखिइन् ।

अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको प्रतिस्पर्धाले माहोल तातिएको बेला गायिका मगर मतदाताहरूको लाइनमै पुगेर प्रतिनिधिहरूसँग भलाकुसारी गर्दै मत मागिरहेकी थिइन् । यद्यपि ज्योति मगर एमालेको महाधिवेशन प्रतिनिधि होइनन् ।

निर्वाचन आयोगले मतदानस्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको र पास नभएकालाई प्रवेश निषेध गरेको बताए पनि प्रतिनिधि नै नभएकी मगर कसरी मतदानको संवेदनशील क्षेत्रभित्र प्रवेश गरिन् भन्ने खुलेको छैन । उनी कसको पक्षमा मत माग्दैछिन् भन्ने प्रष्ट नखुले पनि लाइनमा बसेका प्रतिनिधिहरूसँग उनी निकै घुलमिल भएर कुराकानी गरिरहेको देखिएको थियो ।

लामो समयको प्राविधिक उल्झनपछि आज बिहानबाट मतदान सुरु भए पनि ज्योति मगरको उपस्थिति भने भृकुटीमण्डपमा नयाँ होइन । उनी हिजो पनि महाधिवेशनस्थल वरपर देखिएकी थिइन् । आज भने उनी बाहिर मात्र सीमित नभई सिधै प्रतिनिधिहरूले मतदानका लागि पालो कुरिरहेको लाइनसम्मै पुगेकी हुन् ।

एकातिर ८० वटा भोटिङ मेसिन र लामो लाइनका कारण प्रतिनिधिहरू ३५ देखि ४० मिनेट लगाएर मतदान गरिरहेका छन् भने अर्कोतिर गायिका मगरको यो उपस्थितिले गम्भीर राजनीतिक माहोलमा केही फरक र रोचक रङ भरेको छ । मतदानस्थलमा उनको उपस्थितिलाई प्रतिनिधिहरूले भने अनौठो र रमाइलो मान्दै हेरेका थिए ।

धेरै पढिएको