काठमाडौं । खराब मौसमका कारण कतारबाट हात्ती लिन आएको कतार एयरवेजको कार्गो चार्टर विमान कलकत्तामा डाइभर्ट भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि कुहिरो लागेर भिजिबिलिटी कम भएपछि विमान अवतरण गर्न नसकेको हो ।
कतारको दोहाबाट आएको कतार एयरवेजको उडान नम्बर QR8824 बोइङ 777F कार्गो विमानले भैरहवामा दुईवटा जीवित हात्ती लोड गरेर फर्किने कार्यसूची थियो । तर काठमाडौं क्षेत्रमा केही समय होल्डिङ गरेपछि इन्धन सकिन लागेका कारण चालक दलले विमानलाई भारतको कलकत्ता डाइभर्ट गरेको जनाइएको छ ।
फ्लाइट ट्र्याकिङ अनुसार विमान करिब २५ हजार फिट उचाइमा ३२३ नट्स गतिमा होल्डिङमा थियो । भैरहवामा भिजिबिलिटी जम्मा ५०० मिटर मात्र रहेको र अवतरणका लागि न्यूनतम ९०० मिटर आवश्यक पर्ने भएकाले तत्काल ल्याण्ड गर्न नसकिएको विमानस्थल स्रोतले बतायो ।
मौसम सुधार भए नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेतिर विमान भैरहवा फर्किने अपेक्षा गरिएको छ । मूल कार्यसूची अनुसार विमान बिहान ११ बजे अवतरण गर्ने थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको यो लाइभ एनिमल कार्गो चार्टर उडानको रुट दोहा–भैरहवा–दोहा रहेको छ । विमानमा दुई पाइलटसहित ५ क्रु सदस्य मात्र सवार छन् । विमानको अधिकतम टेकअफ वेट ३४७ टन रहेको छ ।
यता, नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप दिन लागेका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ नामका दुई हात्ती मंगलबार बिहान भैरहवा पुगिसकेका छन् । चितवनको सौराहाबाट सोमबार बिदाइ गरिएका यी हात्तीको जोडीलाई रातभर ट्रकमा राखेर भैरहवा ल्याइएको हो ।
बुधबार मौसमले साथ दिएमा भैरहवाबाट औपचारिक हस्तान्तरणपछि यी हात्तीलाई कतार पठाइने कार्यक्रम छ । कतारका अमिरको नेपाल भ्रमणका क्रममा घोषणा भएको यो उपहार नेपालले पहिलोपटक हात्ती दिन लागेको हो ।