१२ श्रावण २०८१, शनिबार
Follow Us

१ हजार ३ सय २८ जनाले लिए एनआरएन नागरिकता !

नेपालब्रिटेन डट कम्
११ माघ २०८०, बिहीबार ०२:०८

लण्डन । तीन महिनाको अवधिमा एक हजार तीन सयभन्दा धेरै गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएका छन् । उपत्यकाका तीन जिल्लाबाट मात्र करिब ६ सयले यस्तो नागरिकता लिएका छन् ।

गत २० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई एनआरएनलाई नागरिकता दिएर गैरआवासीय नेपालीलाई नागरिकताको सुरुवात गरेका थिए । त्यसयता गृह मन्त्रालयका अनुसार ७ माघसम्म देशभरका जिल्ला प्रशासन कार्यालयबाट एक हजार ३२८ वटा एनआरएन नागरिकता जारी भएका छन् ।

तीन महिनामा एक हजार तीन सय भन्दा धेरै गैरआवासीय नेपालीलाई नागरिकता वितरण भइसकेको छ । सबैभन्दा धेरै उपत्यकाका जिल्लाबाट जारी भएको छ ।

एनआरएन नागरिकता उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट धेरै जारी भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए । सबैभन्दा धेरै काठमाडौंबाट चार सय ४३ जनाले यस्तो नागरिकता लिइसकेका छन् । ललितपुरबाट ८६ र भक्तपुरबाट ५३ जनाले नागरिकता लिएको विवरण छ ।

गैरराजनीतिक अधिकारसहितको नेपालमा पहिलोपटक एनआरएन नागरिकता दिन थालिएको हो । ०७२ सालमा जारी संविधानमै यससम्बन्धी प्रावधान भए पनि बल्ल कार्यान्वयन थालिएको हो । सरकारले नागरिकता ऐन र नियमावली संशोधन गरी एनआरएनलाई नागरिकता दिन थालेको हो ।