११ फाल्गुन २०८०, शुक्रबार
Follow Us

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाखको अक्सिजन प्लान्ट हस्तान्तरण

नेपालब्रिटेन डट कम्
११ माघ २०८०, बिहीबार १४:१०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार एनआरएनए अध्यक्ष डा. बद्री केसीले धनगढीमा आयोजित एक समारोहकाबीच उक्त अक्सिजन प्लान्ट अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई हस्तान्तरण गर्नुभयो ।
प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गर्नुभयो । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताउनुभयो ।

मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष डा. केसीले कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले विदेशमा र नेपालमा रहेका नेपालीहरुलाई ठूलो सहयोग पु–याएको स्मरण गर्नुभयो । डा. केसीले आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीहरुले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोनामा महामारीमा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले सम्पूर्णदाताहरुलाई संघको तर्फ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विदेशमा बसेर पनि नेपाल आमाको गुण तिर्न पाउ भनेर सहकार्य गर्न सेती अस्पताल आइपुगेको बताउनु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएका कारणले संघको मोवाइल ब्लड बस, अक्सिजन प्लान हस्तान्तरण गरेको बताउनु भयो । उहाँले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसनको सेवा संचालन गर्न सकिने बताउँदै आगामी दिनमा गैरआवासीय नेपाली संघको सहकार्यमा टेलिमेडिसीन कार्यक्रम संचालन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरुपमा आत्मर्निभर भएको बताउनुभयो । उक्त प्लान्टले हावामा रहेको अन्य अक्सिजनलाई प्रशोधन गरेर १ घण्टामा ८ वटा सिलिन्डर तयार गर्न सक्छ ।
प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. नीरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताउनुभयो ।

कार्यक्रमा ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, अतुल कोइराला, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, अर्जुन श्रेष्ठ पूर्वउपाध्यक्ष, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा (माल्टा) को विशेष उपस्थिति थियो ।