७ जेष्ठ २०८१, सोमबार
Follow Us

राजावादीहरू गण्डकीमा सुरक्षा थ्रेट: गृहमन्त्री श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
२० माघ २०८०, शनिबार १३:२२

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको दाबी गरेका छन । आज शनिबार पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।

उनले राजावादी अभियानका कारण चुनौती बढेको पनि बताएका छन । उनले भने, ‘समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् । तत्कालका लागि भन्दा खेरी संविधान नमान्नेहरूका कारण चुनौती छ । संविधान उल्लङ्घन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, धार्मिक राज्य बनाउँछु भन्नेहरूले चुनौती थपेका छन् ।’

उनले सहकारी पीडित र मिटरब्याज पीडितका अभियानहरू पनि चुनौतीको रूपमा रहेको पनि बताएका छन । श्रेष्ठले भ्रष्टाचार देशको प्रमुख शत्रु भएकाले सरकार भ्रष्टाचार अन्त्य गर्न जिम्मेवार भएर लाग्ने बताएका छन ।

उनले भ्रष्टाचार माथिल्लो तहमा रहेको पनि स्वीकारेका छन । उनले भने, ‘माथिल्लै तहमा भ्रष्टाचार छ । पहुँच भएका वर्ग, राजनीतिक नेता र कर्मचारी नै संलग्न छन्, ‘एकातिर सुशासनको माग गर्ने अर्कोतिर कारबाही गर्न नदिने । अब कसलाई कारबाही गर्ने त ?’ उनले राज्यलाई लुटेको टुलुटुलु हेरेर नबस्ने दाबी गरेका छन ।

उनले सङ्क्रमणकालीन न्याय यही संसदबाट टुङ्गोमा पुर्‍याउने पनि बताएका छन् । उनले भने, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गर्छौँ ।

शान्ति प्रक्रियालाई पूर्णता दिने पक्षमा सरकार छ, ‘सबै दलसँगको समझदारीमा यो टुङ्गोमा पुग्छ ।’ उनले प्रहरी समायोजनको विषय प्रक्रियामा रहेको बताए । २४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समायोजनका लागि समिति गठन गर्ने बताएका छन ।