१६ बैशाख २०८१, आईतवार
Follow Us

बाग्लुङ अमलाचौर स्कुलको गुणस्तरिय शिक्षामा जोड

नेपालब्रिटेन डट कम्
२६ माघ २०८०, शुक्रबार २१:१७

काठमाण्डौं । बाग्लुङस्थित अमलाचौर स्कुल एल्मुनाई एशोसियसनका सदस्यहरुले सबैको साथ लिएर विद्यालयको गुणस्तर विकासका लागि आवश्यक पहल गर्नु पर्नेमा जोड दिएका छन् ।
एशोसियसनको नवनिर्वाचित कार्यसमितिको गत शनिवार सम्पन्न प्रथम वैठकमा बोल्ने वक्ताहरुले भौतिक रुपमा विद्यालय पूर्णरुपमा आत्मनिर्भर रहे पछि गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष डा. ज्ञानेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष डा. हेम राज शर्माले विद्यालयको गुणस्तर विकासका लागि शिक्षकलाई शसक्तिकरण गर्ने, थप आम्दानीका स्रोत पहिचान गर्न सुझाव दिए ।

उनले विद्यालयमा कम्प्युटर शिक्षकको अध्यापनबाट अभिभावक तथा विद्याथीले लाभ पाएको महशुस गरेकोमा खुशी व्यक्त गरे ।

डा. शर्माले अंग्रेजी माध्यममा अध्यापन गराउने शिक्षकको लागि पहल गर्नुपर्ने र एसईई रिजल्ट राम्रो निकाल्न विद्यालय परिवारलाई उत्साहित गर्ने कुरामा जोड दिए ।

निवर्तमान कोषाध्यक्ष दुर्गालाल चापागाईले कम्प्युटर शिक्षकको तलव कसरी भुक्तानी गर्ने साथै भविष्यमा एल्मुनाईको कोषमा रहेको रकमको व्याजबाट मात्र सो तलव भुक्तानी गर्न मुश्किल हुने जानकारी दिए ।

बैठकमा निशान वि.क. ले विद्यालयमा कम्प्युटर विषयमा मात्र जोड दिदा पढाइ अधुरो जस्तो लागेकाले अंग्रेजी विषयलाई समेत राम्रो गर्दै लैजान जोड दिनुपर्ने विषयमा जोड दिए ।

बैठकमा सदस्य छविलाल लामिछानेले विद्यालयको शैक्षिक सुधारका लागि समस्याहरुलाई चिर्दै देश वाहिर र भित्र रहेका सरोकारवालासंग समन्वय गर्दै अगाडि जानुपर्नेमा जोड दिए ।

बैठकमा बोल्दै सदस्य तुलसी राम लामिछानेले विद्यालयको शैक्षिक उन्नयनका तथा कोष विस्तार र आजीवन सदस्य बढाउन जोड दिनु पर्ने विचार व्यक्त गरे ।

बैठकमादुमनाथ शर्मा चापागाईले सबै जनालाई समेटेर लैजान पहल गर्नु पर्ने र गुणस्तरीय शिक्षामा जोड दिए ।

संस्थामा निवर्तमान महासचिव राजन पौडेलले विद्यालय सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल आवश्यक रहेको बताए ।

संस्थाका महासचिव कृष्ण पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा विकासमा शिक्षकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयसँग छलफल गरी तयार पारिएको पञ्चवर्षीय योजनालाई समेत ध्यानमा राखी भावि योजना तयार गर्नुपर्ने साथै कोष बढाउन पहल गर्न जोड दिइने बताए ।

बैठकले निवर्तमान कार्यसमिति सदस्यहरुले पु-याएको योगदानप्रति हार्दिक आभार प्रकट गर्दै नयाँ कार्यसमिति निर्विरोध चयन गर्न प्रत्यक्ष अपत्यक्ष रुपमा योगदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकले रिक्त महिला सदस्य पदमा सिर्जना हरिजनलाई मनोनित गर्ने सर्वसम्मत निर्णय गरेको थियो । बैठकले संस्थाको प्रेश संयोजकमा चिरन शर्मालाई जिम्मेवारी दिन निर्णय गरेको छ । त्यसैगरी, अमलाचौर स्कुलको पढाई गुणस्तर बढाउने साथै विद्यालयसँग नजिकबाट आवश्यक समन्वय गर्ने उद्धेश्यले श्री दुमनाथ शर्मा चापागाईको संयोजकत्वमा निशान वि.क., ज्ञानेन्द्र ढकाल, प्रमानन्द पौडेल र सिर्जना हरिजन गरी ५ जनालाई जिम्मेवारी सुम्पिएको छ ।

बैठकले लुम्विनी प्रदेश तथा चितवन क्षेत्रमा रहेका संस्थाका सदस्यहरुसंग समन्यवय गर्न हालका लागि सदस्य तुलसीराम लामिछानेलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले संस्थाको नविकरणका लागि दुर्गालाल चापागाई, राजन पौडेल, मित्र प्रसाद पौडेल र तिर्थ राज शर्मालाई जिम्मेवारी दिने निर्णय भएको छ । बैठकमा निवर्तमान अध्यक्ष डा. हेम राज शर्मा, महासचिव कृष्ण पौडेल, कोषाध्यक्ष मित्र पौडेल, राजन पौडेल, दुर्गालाल चापागाई, दुमनाथ शर्मा चापागाई, निशान विश्वकर्मा, छविलाल लामिछाने, तुलसी राम लामिछाने, ज्ञानेन्द्र ढकाल र चिरन शर्माको उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष हेम राज ढकाल विदेश भ्रमणमा रहेका कारणले बैठकमा उपस्थित हुन नसेको महासचिव पौडेलले जानकारी दिए।

अमलाचौर स्कुल एल्मुनाई एशोसियसन पहलमा ५ करोड भन्दा बढीको विद्यालय भवन निमार्ण गरिएको छ भने कक्षा ६ देखि १२ सम्म कम्प्युटर कक्षाहरु संचालन भएका छन् । विद्यालय कक्षा संचालनमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

एशोसियसनकै सकृयतामा विद्यालयमा एक जान पूर्णकालिन कम्प्युटर शिक्षकको समेत व्यवस्था गरिएको छ ।