१९ जेष्ठ २०८१, शनिबार
Follow Us

पाकिस्तान निर्वाचनः इमरान खान समर्थित उम्मेद्वार सबैभन्दा धेरै स्थानमा विजयी

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८०, शनिबार ०८:१६

इस्लामावाद । जेलमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गरेका छन् ।

खानसँग जोडिएका स्वतन्त्र उम्मेदवारले अहिलेसम्म अधिकांश सिट जितेका छन् । अधिकांश सिट घोषणा भइसकेका छन् । खानको पार्टीलाई निर्वाचनमा पार्टीका रुपमा भाग लिन र आफ्नै निर्वाचन चिह्न प्रयोग गर्न रोक लगाइएको थियो ।

२५० स्थानको मत गणना हुँदा इमरान खानको पार्टी समर्थित स्वतन्त्र उम्मेदवारले ९९ स्थानमा जितेका छन् । १५ स्थानको मत परिणाम आउन बाँकी छ भने १ स्थानमा पुनः मतदान हुनेछ । यसैगरी अर्का पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले ७१ स्थानमा जित हासिल गरेको छ ।

यस्तै पूर्व प्रधानमन्त्री बेनिजिर भुटोका छोरा बिलाबल अलि भुटो जर्दारीको दल पिपिपिले ५३ स्थानमा जित हासिल गरेको छ । अन्य दलहरुले २७ सिट जितेका छन् । निर्वाचन परिणामले कुनै पनि समूह वा दलले समग्र बहुमत ल्याउने अवस्था छैन ।

पूर्व प्रधानमन्त्री खानले भिडियो सन्देश पोष्ट गर्दै आफ्नो दललाई लगाइएको प्रतिबन्धका बाबजुद पनि ठूलो विजयी भएको बताउनु भएको छ । हाल जेलमा सजाय् काटिरहनुभएका खानले आफू माथि लगाइएको आरोप राजनीतिक रुपमा अभिप्रेरित भएको बताउनु भएको छ ।

पीटीआई-सम्बद्ध उम्मेदवारहरूको सफलता अप्रत्याशित भएको धेरै विज्ञहरूले बताएका छन् । निर्वाचनमा पूर्व प्रधामन्त्री शरिफलाई देशको शक्तिशाली सेनाको समर्थन रहेको विश्वास गरिएको थियो । निर्वाचन अघि सरिफको दल विजयी हुने अनुमान समेत गरिएको थियो । तर नतिजा भने फरक आएको छ ।

निर्वाचन आयोगको नियम अनुसार स्वतन्त्र उम्मेदवारहरू चुनावमा निर्वाचित भएपछि निर्वाचन चिह्न भएको कुनै दलमा आबद्ध हुने अनुमान गरिएको छ । पिटिआईको चुनाव चिह्न नभएका कारण खानको दलले समर्थन गरेका उम्मेदवारहरू अर्को दलमा जानुपर्ने बाध्यता छ ।