१६ बैशाख २०८१, आईतवार
Follow Us

बर्न्टओक नेपाली समाजले २० औं वार्षिकोत्सव मनाउने

नेपालब्रिटेन डट कम्
२ फाल्गुन २०८०, बुधबार १०:५७

लन्डन – लण्डनस्थित बर्न्टओक नेपाली समाजले बैठकले समाज स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको छ।
समाजका युवा सदस्यहरुलाई समाजका गतिविधिहरुमा अगाडी बढाउने निर्णय गरेको छ।

एजवेयरस्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा समाजका अध्यक्ष खमिरजंग गुरुङको अध्यक्षतामा गत आइतबार बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले आउँदो गर्मी याममा ‘समर आउटिंग’ आयोजना गर्ने निर्णय गरेको छ भने मिति तथा स्थानबारे पछि निर्णय गरिने जनाइएको छ।

बैठकले संस्थाको तर्फबाट एक टीम गोर्खा कपमा भाग लिन पठाउने निर्णय पनि गरेको छ।

उक्त बैठकमा बोल्दै समाजका पूर्व अध्यक्ष तथा लन्डन बरो अफ बर्नेटका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संस्थामा नयाँ पुस्तालाई संलग्न गराउन र उनीहरु लाई क्रमश नेतृत्व हस्तान्तरण गर्दै जान आवश्यक रहेको बताए।

बैठकले समाजका पूर्व अध्यक्ष मोहन गुरुङलाई संस्थाको प्रमुख सल्लाहकारमा मनोनयन गरेको छ। बैठकमा अध्यक्षले समाजका प्रमुख सल्लाहकार लगायत सबै सल्लाहकारहरुलाई खादा लगाएर सम्मान गरेका थिए।

बैठकले संस्थालाई मुनाफा नकमाउने संस्थाको रुपमा कम्पनी हाउसमा दर्ता गर्ने निर्णय गर्नुका साथै त्यसका लागि संस्थाका सदस्यहरु वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की तथा मनिराज थापालाई जिम्मा दिने निर्णय ग-यो।

बैठकमा समाजमा टाढा टाढा बसेका नेपाली/भूतपूर्व गोर्खाहरु पनि आबद्ध भएका ले सबै लाई समेट्ने गरी संस्थाको नाम परिवर्तन गर्ने कि भन्ने बारे पनि छलफल भएको थियो तर कुनै निर्णय भने गरिएन।

संस्थामा आबद्ध पेशेवर सदस्यहरुको सहमति लिएर उहाँहरुको नाम र सम्पर्क नम्बर समाजको भाइबर ग्रुपमा राख्ने पनि निर्णय गरिएको छ।

समाजका सल्लाहकार तथा कार्य समिति सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको उक्त बैठकको संचालन महासचिव हेलिशा गुरुङले गरेकी थिइन्। बैठकको अन्त्यमा अध्यक्ष खमिरजंग गुरुङले बैठकमा भौतिक तथा अनलाइनबाट सहभागी सबै पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए।