१८ जेष्ठ २०८१, शुक्रबार
Follow Us

इलाम–२ मा रास्वपाको उम्मेदवारमा रमेश प्रसाईंको चर्चा

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०८०, बुधबार ०७:१२

काठमाडौं । आगामी १५ वैशाखमा इलाम–२ सहित देशका विभिन्न स्थानमा उपनिर्वाचन हुदैछ । यस क्षेत्रबाट निर्वाचित सांसद एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २६ भदैमा हृदयघातको कारण निधन भएपछि यस क्षेत प्रतिनिधि विहीन बनेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ ।

उक्त निर्वाचनमा नयाँ पार्टीको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट को उम्मेदवार होला भन्ने चर्चा सुरु भएको छ । यस क्षेत्रमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रमेश प्रसाईंको चर्चा पार्टी भित्र सुरु भएको रास्वपाका एक नेताले जानकारी दिएका छन । यसअघि रास्वपाले बैंकर अनिल केशरी, पत्रकार मिलन लिम्बू लगायतलाई उठाउने चर्चा रहेको थियो । यस क्षेत्रबाट प्रसाईंको नाम चर्चामा रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बुर्लाकोटीलाई रास्वपाले इलाम–२ को उपनिर्वाचनका लागि कमाण्डर तोकेर पठाएको छ ।

उनले भने, ‘रमेश प्रसाईंलाई उठाउनु पर्छ भन्ने ठुलै जमात छ । उहाँ झापा बस्ने भएको कारण इलामसँगको सम्बन्ध पनि राम्रो छ । पार्टीभित्रका साथीहरुको सुझाव पनि छ । तर, पार्टीले रमेश प्रसाईंलाई उठाउने भन्ने कुनै मनस्थिति बनाएको छैन । सम्भवतः उपनिर्वाचनमा उहाँ उठ्नुहुन्न, ‘रमेश प्रसाईं हुँदा इलाममा चुनाव जितिन्छ भन्ने इलाममै साथीहरूको पनि कुरा छ ।’

यता , प्रसाईं आफैँ पनि सो क्षेत्रमा जनजाति उम्मेदवार उठाउनु पर्ने आफ्नो धारणा रहेको बताएका छन । उनले भने, ‘मेरो व्यक्तिगत विचारमा पार्टी शत प्रतिशत समावेशी हुनुपर्छ । इलाम–२ को उम्मेदवार छनौट गर्दा त्यो निर्वाचन क्षेत्रका स्थानीयले अपनत्व ग्रहण गर्ने खालको उम्मेदवार छानिनुपर्छ भन्ने मेरो दृढ दृष्टिकोण हो ।

अझै स्पष्ट रुपमा भन्दा आदिवासी जनजाति समुदायको उम्मेदवार हुनुपर्छ भन्ने मेरो धारणा हो ।’ आफ्नो व्यक्तिगत हितभन्दा संगठनको बृहत्तर हित हेर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको प्रसाईंले बताए । यद्यपि पार्टीले टिकट दिने निर्णय गरेको खण्डमा आफू जाने उनले बताएका छन । उनले भने, ‘पार्टीको आधिकारिक निर्णय भएको होइन ।

सम्भावित नामको विषयमा छलफल भएको हो । त्यसक्रममा मेरो नाम पनि आएको भन्ने सुन्नमा आएको हो । म त्यो छलफलमा थिइनँ, ‘म पार्टीको निष्ठावान सदस्य हो । राजनीतिमा कुनै पनि व्यक्ति हामफाल्दा जनप्रतिनिधिको रुपमा उभिने सपना देखेको हुन्छ । पार्टीले निर्णय ग-यो भने म जिम्मेवार सदस्यको हिसावले स्वीकार गर्छु ।’

उता, रास्वपा सहमहामन्त्री बुर्लाकोटीले पार्टीले गरेको अनौपचारिक सर्वेक्षणमा आफ्नो पार्टीले जित्ने पक्का रहेको बताएका छन । उनले भने, ‘कुनै व्यक्तिको विषयमा मत सर्वेक्षण गरेको होइन ।

पार्टीको अवस्थाको विषयमा अनौपचारिक सर्वेक्षण ग-यौँ । हाम्रो राम्रो अवस्था देखियो ।’ रास्वपाले एमालेसँग तालमेल गर्ने भन्ने चर्चा चलिरहे पनि उनले त्यस्तो सम्भावना नरहेको बतए । ‘हाम्रो उम्मेदवारलाई समर्थन गर्ने अवस्था भए हामी समर्थन लिन्छौँ । तर, अरुलाई हामी स्वीकार गर्दैनौँ,’ उनले भने ।

इलाम–२ को उपनिर्वाचनका लागि यसअघि प्रतिस्पर्धामा रहेका एमाले र कांग्रेसका आन्तरिक कमिटीहरु चुनावलक्षित सांगठनिक तयारी गरिरहेका छन् । माओवादी केन्द्रले पनि यसपटक एक्लै मैदानमा उत्रने जनाएको छ । पहिचानवादीहरु पनि यसपटक एकताबद्ध भएर जानेगरी लागेका छन् ।

एमाले स्रोतका अनुसार उक्त निर्वाचन क्षेत्रमा नेम्वाङका छोरा सुहाङ नेम्वाङको बढी चर्चा छ । यस्तै एमालेबाट नेताहरु उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रविन्द्र सुवेदीलगायतको चर्चा छ । एमालेको दह्रो आधार क्षेत्र रहेको उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न आकांक्षा राख्नेको ताँती नै रहेको स्थानीय बताउँछन् ।