२७ बैशाख २०८१, बिहीबार
Follow Us

वर्तमान सरकारको आयु एक महिना पनि छैन: मेटमणि चौधरी

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०८०, शनिबार १२:२०

काठमाडौं । नेकपा एकीकृत समाजवादी का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको टिप्पणी गरेका छन । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नभएको दाबी गरेका छन । उनले भने, ‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ ।

बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन ।’

नेता चौधरीले सरकार निरन्तर रूपमा अगाडि बढिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाएका छन । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे ।

प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताएका छन । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरूलाई मुलुकको राजनीतिको मूलधारबाट सीमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।