१५ बैशाख २०८१, शनिबार
Follow Us

टेक्ससको राजधानी शहर अस्टिनमा बन्यो पशुपतिनाथको मन्दिर

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०८०, आईतवार २०:०२

नारायण भण्डारी । हुट्टो । टेक्सस । टेक्ससको राजधानी शहर अस्टिन संगै जोडिएको हुट्टोमा नेपालमा रहेको आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरको स्वरुपमा एउटा विशाल ऐतिहासिक मन्दिरको निर्माण गरिएको छ । यो मन्दिरको स्थानीय हुट्टो शहरका मेयर माईक स्नाईडरले मार्च आठमा एक औपचारिक कार्यक्रम बिच पानसमा बत्ति बालेर उद्धाटन गरेका छन ।

ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने हिन्दु नेपालीहरुको पहलमा यो मन्दिर निर्माण गरिएको हो । यसको लागि यहॉ सक्रिय नेपालीहरुको साझा संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटीले नेतृत्व लिएर काम गरेको हो । यसैको योजना, नेतृत्व र पहलमा यो काम संम्पन्न भएको छ ।

यो मन्दिरले यस क्षेत्रका नेपालीलाई दीर्घकाल सम्म नेपाल र हिन्दु सनातन धर्म संग जोडेर राख्ने अपेक्षा गरिएको छ ।

यो मन्दिरको स्वरुप मात्र पशुपतिनाथको जस्तो होईन यसमा प्रयोग गरिएका अधिकांश सामग्री नेपालबाट ल्याईएको हो । यो मन्दिरको मुल ढोका, टुडालहरु, ऑखीझ्याले बुट्टा कुदिएका काठका बाहिरी सिलिगं, यसमा प्रयोग भएका ईंटा, यहाँ लगाईएको मुर्तिहरु, यहॉ राखिएको सॉडे नेपालमा बनाएर ल्याईएका हुन । यि सामाग्रीले यो मन्दिरलाई ठ्याक्कै नेपालमै रहेको पशुपतिनाथको झल्को मेट्ने गरि मन्दिर निर्माण भएको छ।

योजना तयार भएपछि पनि यो मन्दिर निर्माण गर्न करिब चार बर्ष भन्दा बढि समय लागेको छ । यस क्षेत्रमा नेपालीले निर्माण गरेको यो नै पहिलो मन्दिर पनि हो ।
यो मन्दिर निर्माण गर्न धेरै नेपाली प्राविधिकहरु र कालीगढले सहयोग गरेका छन। मन्दिर निर्माण समिति र ग्रेटर अस्टिन नेपाली सोसाइटीका पदाधिकारीको अथक प्रयासले यसको निर्माण संभव भएको हो । करिव २.६ एकड जमिन मन्दिर क्षेत्रले समेटेको छ।

उद्धाटन कार्यक्रममा बोल्दै स्थानीय मेयरहरुले मन्दिरको खुलेर प्रसंसा गरे। आफ्नो शहरमा यति राम्रो ऐतिहासिक धरोहर निर्माणले उनीहरुलाई खुसी लागेको उनीहरुको भनाई थियो ।स्थानीय हुट्टो शहरका मेयर माईक स्नाईडर र सेडरपार्क शहरका मेयर जिम मोरीन उद्धाटन कार्यक्रममा सरिक भएका थिए ।

मन्दिर तयार भएपनि यसका साथै निर्माण गरिने अरु कैयौ पूर्वाधारहरुको निर्माण अझ केहि बर्षहरु सम्म जारी रहने संचालक समितिले जानकारी दिएको छ । ग्रेटर अस्टिन नेपाली सोसाइटीको नेतृत्व भोजराज भट्टले गरिरहनु भएको छ भने मन्दिर निर्माण समितिको नेतृत्व ग्रेटर अस्टिन नेपाली सोसाइटी आध्यात्मिक एवं सांस्कृतिक समितिको संयोजकको नेतृत्व गेहेन्द्र केसीले गरिरहनु भएको छ । मन्दिर निर्माणले यस क्षेत्रका हिन्दु नेपालीहरुमा थप हौसला थपेको छ ।