१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए घले समूहको भेलामा उपस्थिति न्यून, कुवँरको कार्यकाल समाप्त

नेपालब्रिटेन डट कम्
५ चैत्र २०८०, सोमबार ०५:१९

बाढियो मनोरेलको सपना

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्व अध्यक्ष शेष घले समूहको भेला काठमाडौमा सम्पन्न भएको छ ।

‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौँमा सम्पन्न भएको हो।

केही देशका तीन दर्जन प्रतिनिधि सहभागी रहेको भेलाको उद्घाटन सो समूहका संरक्षक डा शेष घलेले गरेका थिए। घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्ने बताए।

केही समस्या देखिएपनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दित्तचित्तले लागेको बताउँदै घलेले नागरिकतालगायतका विषयमा अझै संघर्ष जारी रहेको बताए।

“हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ। लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन” घलेले भने। उनले नागरिकतालाई कागजको खोस्टोमा सिमित बनाउन नहुने समेत बताए।

भेलाको संयोजक विनोद कुवँरले संस्थालाई विधिमा लैजान चाहेको बताए । उनले केही साथीहरुले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो। हामी अझैपनि विधिवत रुपमा संघलाई अगाडि बढाऔं भनिरहेका छौं” कुँवरले भने। उनले त्यसैको लागि आफूहरुले महाधिवेशन रोकेर बार्षिक साधारणसभा गरेको बताए।

आफूहरुले आवाज उठाएको २० बर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा समित अधिकार तोकिएकोले समस्या समाधान नभएको बताए। आफूहरुलाई लगानीको वातावरण नबनेको भन्दै कुँवरले भने, “हामीहरुलाई स्वागत चाहिँदैन, देशको समृद्धिको लागि विदेशमा कमाएका पैसा नेपालमै लगानी गर्ने वातावरण बनाइदिनुुस् भनेका छौं। दिनदिनै युवा पलायन भइरहेको भन्दै त्यसलाई रोक्न पनि हामी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्छौं, त्यसको लागि वातावरण चाहिएको हो।”

कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए । उनले आफूहरुले संघको विधान र विधि मानेकोले मुलधार भएको बताए ।

अर्को उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिएका थिए । साधारणसभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ ।

नगरपालिकासंग सम्झौता

भेलामा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता समेत भएका छन् ।

काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन् ।

पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत संगिता कार्कीले हस्ताक्षर गरेका छन् ।

संयोजक विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियान नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ ।


विनोद कुँवर समूहको कार्यकाल सकियो

पूर्वअध्यक्ष घलेको सकृयतामा गठन भएको अध्यक्ष विनोद कुँवरले समूहको कार्यसमितिको म्याद सकिएको छ । तर आइतवार सम्पन्न भेलाले नयाँ निर्वाचन सम्बन्धी कुनै पनि निर्णय नगर्दा दुई वर्षे कार्यकालको लागि संयोजक बनेका उनको कार्यकाल स्वतः समाप्त भएको हो ।