१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रहरीमा एसपीका आठ पद रिक्त

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८०, शुक्रबार १३:५४

काठमाडौँ । नेपाल प्रहरीमा आठ प्रहरी उपरीक्षक(एसपी) पद रिक्त छ । साउनदेखि माघसम्मरिक्त हुँदै आएको एसपी पदमा नौ महिना पुग्दासमेत बढुवा हुन सकेको छैन ।

साउन २० मा एक, भदौ १४ मा एक, मंसिर चार मा पाँच र माघ १६ मा थप एक गरी ८ जना एसपीको पद रिक्त छ । एसपी दानबहादुर मल्ल र वामदेव गौतम अनिवार्य अवकाशमा गएपछि र बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली, चन्द्रदेव राई र रमेश कुमार बस्नेत एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा भएपछि रिक्त एसपी पदको संख्या आठ पुगेको हो ।

डिएसपीबाट एसपी बढुवाका लागि १२ जना प्रतिस्पर्धामा छन् । तर, नौ महिनादेखि एसपीको पद रिक्त हुँदासमेत बढुवा प्रक्रिया अघि नबढाइँदा सम्भाव्य उम्मेदवारहरूमाथि अन्याय भएको छ ।

प्रहरी नियमावली २०७१ मा बढुवा सम्बन्धी व्यवस्थामा पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने उल्लेख छ । नियमावलीको दफा २६ मा लेखिएको छ, ‘(१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पदपूर्ति गरिसक्नु पर्नेछ ।’ तर, उक्त नियमावलीमा भएको व्यवस्था कार्यान्वयन भएको छैन ।