१८ भाद्र २०८३, बिहीबार
Follow Us

बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा ५ लाख ४१ हजारभन्दा बढी सहयोग

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८३, बिहीबार ०४:३९

बेल्जियम । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति बेल्जियमले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीपीडितको सहयोगका लागि सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियानबाट हालसम्म ३,१४५ युरो जम्मा भएको छ। संकलित रकममध्ये ४ लाख १ सय ११ रुपैयाँ नेपाली कांग्रेस पार्टीको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको समितिले जनाएको छ।

त्यसैगरी बाँकी १ लाख ४१ हजार १३७ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसरी नेपाली जनसम्पर्क समिति बेल्जियमको तर्फबाट बाढीपीडितका लागि कुल ५ लाख ४१ हजार २४८ रुपैयाँ आर्थिक सहयोग गरिएको समितिले जनाएको छ।

समितिले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समितिले मानवीय सहयोग अभियानमा साथ दिने संस्थापक तथा पूर्व सभापतिहरू, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकार, संरक्षक र सम्पूर्ण सहयोगी दाताहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

विपत्तिको यस घडीमा पीडितहरूको साथमा उभिन पाउनु समितिका लागि मानवीय जिम्मेवारी र गौरवको विषय भएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, नेपाली जनसम्पर्क समिति बेल्जियमले हालका लागि राहत तथा आर्थिक सहयोग संकलन अभियान स्थगित गरेको जनाएको छ। आगामी दिनमा सहयोग गर्न इच्छुक महानुभावहरूले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा नेपाली कांग्रेस पार्टीको विपद् व्यवस्थापन कोषमा प्रत्यक्ष रूपमा सहयोग गर्न समितिले आग्रह गरेको छ।

धेरै पढिएको