२१ बैशाख २०८१, शुक्रबार
Follow Us

हाइकुहरुको संग्रह‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०८०, शनिबार ०९:०२

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक‘शाडेनफ्रोएडा’ शनिबार साहित्यिक जमघटका बीच विमोचन गरिएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरुमाझ यसलाई पस्केको घोषणा गरेका थिए ।
समारोहको सुरुवातै विप्लवले उपस्थितहरुको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरु समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।
कविता संग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरु छाड्दै आएका विप्लवले सुक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरु माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्याल ख्यालमै लेखेको एउटा हाइकुले मलाइ यहाँ सम्मको यात्रा गराएको हो ।’
तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिब्यक्ति पस्कन सिकाउने लेखकले बताए ।
यस पुस्तकका अक्षरहरु कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् ।

‘हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ,’ विप्लवले थपे, ‘तर, बजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेशन्स नेपालयका सम्पादक तथा प्रकाशकहरुले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’
पुस्तक भित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरु समेटिएका छन्, जसले भावहरुको आरोह अवरोहयुक्त यात्रा गराउँछ ।

‘हामी लेखनका अन्य विधाहरुसँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकुहरुको संग्रह प्रकाशन गर्नपाउँदा खुशी लागेको छ ।’

काव्य कलालाई पुस्तक प्रकाशनका माध्यमबाट मात्रै नभइ अभियानकै रुपमा अघि सार्न यस पब्लिकेशनले केहि महिनादेखि कवि श्रवण मुकारुङको संयोजकत्वमा ‘इ कविता अभियान’ पनि सञ्चालन गर्दै आएको छ । यसमा हरेक शनिबार कविकै स्वरमा एउटा कविता संसारभर फैलिएका काव्यप्रेमीहरुले इन्टरनेट मार्फत् सुन्न सक्छन् ।

विप्लवको प्रस्तुत‘शाडेनफ्रोएडा’ लाई पब्लिकेशन नेपालयले अडियो बुकका रुपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्, पढ्ने पाठकहरुले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरुले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।
पुस्तकको चार सय ९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपा~लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।

यो पुस्तक मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

फोटो: मनिष महर्जन / नेपालय