१५ चैत्र २०८०, बिहीबार
Follow Us

डा. गोविन्द केसीको अनशन तोडियो, सरकारसँग चार बुँदे सहमति

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७३, आईतवार १९:५३

सरकार र शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सरकारले निर्माण गरेको सचिवस्तरीय वार्ता टोली र डा केसीबीच आइतबार राति १० बजे शिक्षण अस्पतालमा सहमति भएको हो ।

सरकारका तर्फबाट वार्ता टोलीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव केदरबहादुर अधिकारी र शिक्षा सचिव लवदेव अवस्थी सहभागी थिए । यस्तो छ सहमतिः

देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः

(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।

(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।

(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।

(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।

(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।

(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।

(२) नं मागको सम्बन्धमा, यो विषय संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र यो विषयले संसदमा प्रवेश पाइसकेको जानकारी हुन आएकोले केही गर्न नपर्ने ।

(३) नं. मागको सम्बन्धमा, नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत स्वयम्भुस्थित अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीका नाममा सञ्चालन हुने गरी विज्ञ टोलीको मुल्यांकनका आधारमा कानूनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने । सो प्रयोजनका लागि आवश्यक रकम नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई उपलब्ध गराउने ।