७ भाद्र २०८२, शनिबार
Follow Us

वीरगन्जमा ३ जनामा हैजा पुष्टिसँगै स्वास्थ्यकर्मीको सक्रियता समुदायमा

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८२, शनिबार ०६:२५

पर्सा । वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रवार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले हैजालाई अत्यन्त गम्भीर सङ्क्रामक रोग भन्दै कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिनुभएको छ। उहाँले शङ्का लागेका लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।

३० जना एकै पटक अस्पताल
महानगरका अनुसार, मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाका कारण वीरगन्जको तराई हस्पिटलमा भर्ना भएका थिए। एकै पटक ठुलो सङ्ख्यामा बिरामी पुगेपछि अस्पतालले शङ्का व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो।

नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा ३ जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो। सङ्क्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिए ।

पानीको नमुना काठमाडौं पठाइयो
सङ्क्रमणको श्रोत पत्ता लगाउन मुर्ली टोलका घर–घरमा प्रयोग भइरहेको पिउने पानीको नमुना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

धेरै पढिएको