लण्डन । नेपालका चर्चित कथावाचक पण्डित कुवेर सुवेदीको उपस्थितिमा लण्डनमा सम्पन्न साताव्यापी श्रीमद्भागवत कार्यक्रममा संकलित खाद्यान्न सामग्री एक च्यारिटी संस्थालाई दान गरिएको छ।
गत अगस्ट १२ देखि १८ सम्म साउथलस्थित विश्व हिन्दू मन्दिरमा आयोजित श्रीमद्भागवतमा भक्तजनहरूले अर्पण गरेका खाद्यान्न सामग्री फेलथामस्थित आन शाइन च्यारिटी (सामुदायिक खाद्य भण्डार) लाई हस्तान्तरण गरिएको हो।
सो संस्थाले बेलायतमा आपतकालीन अवस्था तथा सङ्कटको समयमा खाद्यान्नसहित आवश्यक सहयोग पुर्याउँदै आएको छ। धर्मदर्शन फाउन्डेशन नेपालका संस्थापक पण्डित सुवेदीले अरूको दुःखमा गरिने सेवा नै सर्वोत्तम मानवसेवा भएको उल्लेख गर्दै मानवसेवाको लागि धर्म वा देशको सीमा नहुने र जसलाई जहाँ गएर सहयोग गरे पनि पुण्य प्राप्त हुने बताउनुभयो।
चितवनको देवघाटमा दैनिक सयौँ भक्तजनलाई निःशुल्क भोजन वितरण गर्दै आएका सुवेदीले विदेशमा पनि श्रीमद्भागवतमा संकलित थोरै खाद्यान्न मानवसेवामा प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो।
साउथवेष्ट लण्डनको फेलथामस्थित रिभर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छात्रा टिया आचार्यको सक्रियतामा ती सामग्रीहरू गत शुक्रबार आन शाइन च्यारिटीलाई हस्तान्तरण गरिएको हो। संस्थाकी प्रमुख आन उर्होगिदेले फाउन्डेशनको पहलमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै बेलायतस्थित ब्रिटिश गोर्खा नेपाली कम्युनिटीसँग निरन्तर सहकार्य गर्दै आएको बताउनुभयो। संकलित सामग्रीमा चामल, तेल, चिनी, घ्यू, गेडागुडी लगायतका खाद्यान्न सामेल छन्।
सन् २०१६ देखि स्थापना भएको सो संस्थाले विभिन्न सांस्कृतिक गतिविधिहरू प्रवर्द्धन गर्दै समुदायलाई एकताबद्ध बनाउन विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
वेलायतमा व्यस्त रहेका पण्डित सुवेदीले आगामी सोमवार र मंगलवार स्कटल्याण्ड तथा बिहीवार बर्मिङ्घममा कथा वाचन गर्ने कार्यक्रम रहेको छ।