२० भाद्र २०८२, शुक्रबार
Follow Us

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल सकरात्मकः नेपाली कांग्रेस

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०८:०८

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भएको छलफलमा प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । करिब आधा घन्टा भएको छलफलमा संसदीय छानबिन समिति बनाउनेबारे कांग्रेसले तयार पारेको मस्यौदामै केन्द्रित रहेर प्रधानमन्त्री दाहालसँग छलफल भएको लेखकले बताए ।

नेपाली कांग्रेसले तयार पारेको मस्यौदामा सहकारी संस्थाहरूमा देखिएको संकटको समाधानार्थ सिफारिस गर्नेदेखि सुप्रिम सहकारी, सूर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाबाट अनुचित लाभ लिने एवं सहकारी ऐन विपरीत कार्य गर्ने वा कार्य गर्न मद्दत पुर्‍याउने व्यक्ति र गोरखा मिडिया नेटवर्क प्रालिजस्ता कम्पनीका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलगायत शेयर धनी एवं सञ्चालक समेतकाबारे अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्नेसहित तीन बुँदा रहेका छन् ।

माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहाल र जनार्दन शर्मा तथा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक छलफलमा सहभागी भएका थिए ।

धेरै पढिएको