२१ जेष्ठ २०८१, सोमबार
Follow Us

सत्ता पक्षमा बहुमतको दम्भ देखियो: कांग्रेस

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०८१, सोमबार १०:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आज संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखाएको आरोप लगाएको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको दाबी गरेका छन ।

नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको उनले बताएका छन । उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’

‘सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठकले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।

संसदीय छानबिन समिति बनाउने सहमति भएर कार्यादेशमा छलफल चलिरहेको र संविधान बमोजिम विश्वासको मत लिने समय पर्याप्त रहेको भन्दै उनले भने, ‘सरकारले अवरुद्ध संसद्को बिचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो , अत्यन्त दुःखदायी घटना हो ।’

संसद्लाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिनु खेदजनक भएको कांग्रेसले बताएको छ । संसद्को सोमबारको बैठकमा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रसले ठहर गरेको छ ।

‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।