४ असार २०८१, सोमबार
Follow Us

बेल्जियममा सम्पन्न ‘नेपाली फूड फेस्टिवल’ मा ५ हजार सहभागी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०८१, आईतवार १८:२८

लण्डन । नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो।

नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो ।

हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने उद्देश्यले दुई वटा स्टलहरु हस्तकलाका सामानहरु सजाइएको थियो । स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको थियो । खाना महोत्सवको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृति र नेपाली आत्मीयता विदेशीले महसुस गरेको बताए ।

युरोपियन युनियनका लागि राजदूत समेत रहेका भण्डारीले भने, ‘फेस्टिवलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु।’

१५ भन्दा बढी देशका राजदूतहरुसहित बेल्जियम तथा युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवल को अवलोकन गरेका थिए ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले नेपाली खानालाई विश्वमाझ चिनाउन र नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
फूड फेस्टिवल को संयोजन गरेका व्यवसायी कासी दनैले कार्यक्रम सफल भएको बताए ।

व्यवसायी संघ बेल्जियमका अनुसार फूड फेस्टिवलमा ५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । कार्यक्रममा नेपाली कलासंस्कृति झल्किने नृत्यको प्रस्तुति गरिएको थियो ।