मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेलाई सिफारिस गरेका छन् ।
त्यस्तै चीन मामिला विज्ञ कल्याणराज शर्मालाई चीनको राजदूतमा सिफारिस गरिएको छ । त्यस्तै सुरक्षा विज्ञ चिरनजंग थापालाई अमेरिकाका लागि राजदूत सिफारिस गरिएको छ । यसअघि भारतका लागि नेपाली राजदूतमा चर्चामा रहेका पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । त्यस्तै आप्रवासन विज्ञ सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरिएको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागकी उपप्राध्यापक मञ्चला झा श्रीलंकाका लागि राजदूतमा सिफारिस भएकी छिन् । त्यस्तै नेपाल-जापान मामिलाका जानकार जिग्यानकुमार थापा जापानका लागि राजदूत सिफारिस भएका छन् । पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि सिफारिस भएका छन् ।
पूर्व प्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा एक विशिष्ट सैन्य नेता र रणनीतिकार हुन्, जसले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरी प्रधानसेनापति (२०१२–२०१५) का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए। उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्व माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन प्रक्रियामा संलग्न थिए ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका थिए र सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए। प्रधानसेनापतिको रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेशन संकट मोचन’को नेतृत्व गर्दै राहत कार्यमा १८ वटा विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए।
यसअघि उनले बलाधिकृत, युद्ध कार्य निर्देशनालयका महानिर्देशक र दक्षिण लेबनानमा नेपालको युनिफिल शान्ति सेना बटालियनको कमान्ड सम्हालेका थिए। उनले पाकिस्तानको कायद-ए-आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन्।