१४ असार २०८१, बिहीबार
Follow Us

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८१, शुक्रबार ११:५७

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।