१३ असार २०८१, बुधबार
Follow Us

११ महिनामा ६ लाख ८२ हजार विदेशिए, यूरोपको रोजगारीमा आउनेको संख्या बढ्यो

नेपालब्रिटेन डट कम्
५ असार २०८१, मंगलवार ०५:०१

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।

चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए । उनले भने, ‘यो वर्ष पनि विदेश जानेको संख्या गत वर्षकै नजिक पुग्ने देखिन्छ ।’

यूएई पहिलो गन्तव्य

विभागका निर्देशक सुवेदीले रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यूएई पहिलो श्रम गन्तव्य बनेको छ ।

यूएईका लागि जेठसम्म १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् ।

जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन् । त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् ।

कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

युरोप जाने बढ्दै

पछिल्लो वर्षमा नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बन्न थालेको छ । जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

खाडी राष्ट्रको तुलनामा सेवासुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

कुन महिनामा कति गए ?

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।

त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।