काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेताहरुले आफ्नो राजीनामा मागेपछि पार्टी छोड्न सकिने भनेर जवाफ दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यही समय पार्टी छोड्ने राम्रो समय भएको भन्दै त्यसको सदुपयोग गर्न उनले आग्रह गरेका हुन् । उनले पार्टीमा बस्ने अनि पार्टीकै आलोचना गरेर बसेको भन्दै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन । किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ ।’
त्यस्तै, यही बेला पार्टी शुद्धीकरणको हो भन्दै त्यसका लागि मौकाको फायदा उठाएर जनमत पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
‘हामी पनि आभारी रहनेछौँ। तपाईँसँग हाम्रो केही गुनासो हुनेछैन, हामी उल्टा पार्टीमा यहाँको योगदानको लागि सधैँभरि कदर गरिरहनेछौँ। राम्रो अवसर खोज्नु मानवीय स्वभाव हो, अन्यथा लिँदैनौँ’, उनले लेखेका छन् ।
त्यस्तै, पार्टी छोड्न चाहनेले हस्ताक्षरसहितको पत्र पार्टीको इमेलमा पठाउन समेत भनेका छन् ।