१४ असार २०८१, बिहीबार
Follow Us

युरोकपः पोर्चुगल र टर्कीको विजयी सुरुवात

नेपालब्रिटेन संवाददाता
६ असार २०८१, बुधबार ०५:४९

जर्मनीमा जारी यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा पोर्चुगल र टर्कीले विजयी सुरुवात गरेका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले र टर्कीले जर्जियालाई ३–१ ले पराजित गरेका हुन् । समुह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो ।

पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए । यस अघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

यता, टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए । यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ ।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ ।