काठमाडौं । केही दिनदेखि निरन्तर वर्षा भइरहेको काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा आजदेखि पानी पर्ने क्रम घट्ने भएको छ । तर, पश्चिमी नेपालमा भने भोलि साँझसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले काठमाडौंमा अघिल्ला दिनको जस्तो लगातार वर्षा नहुने मौसमविद् रोजन लामिछानेले बताए । ‘काठमाडौं उपत्यकामा केहीबेर आकाश खुल्ने र बादल लाग्ने हुन्छ, तर अघिल्ला दिनजस्तो लगातार वर्षाको सम्भावना छैन,’ उनले भने ।
उनका अनुसार पश्चिमी क्षेत्रमा भने आज र भोलि पनि भारी वर्षा हुनसक्छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको मात्रा बढी हुने तथा पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
काठमाडौंसहित पूर्वी क्षेत्रमा भोलि दिउँसोदेखि मौसममा थप सुधार आउने र सोमबारदेखि आकाश खुल्ने सम्भावना रहेको विभागले जनाएको छ ।