२१ असार २०८१, बिहीबार
Follow Us

शशांक कोइराला भन्छन्ः काँग्रेस–एमाले मिल्दा तानाशाही जन्मिन्छ

नेपालब्रिटेन संवाददाता
१९ असार २०८१, मंगलवार ०५:४९

काठमाडौं । काँग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमाले र काँग्रेसबीचको सत्ता गठबन्धन गलत भएको बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै कोइरालाले दुई ठूला दल मिलेर सरकार बनाउँदा तानाशाहीको जन्म हुने बताए ।
लोकतन्त्रमा सरकारसँगै प्रतिपक्ष पनि बलियो हुनुपर्ने उनको भनाइ थियो ।

‘अपोजिशन (प्रतिपक्ष) महत्वपूर्ण ठाउँ हो । अपोजिशनले सतर्कता अपनाउँछ । रुलिङ (सरकारको नेतृत्व) पार्टीलाई थ्रेट गर्न सक्छ । सावधानी गराउन सक्छ’, उनले भने, ‘मुख्यमुख्य पार्टी मिले भने अपोजिशन धेरै कमजोर हुन्छ । त्यो कमजोर अपोजिशन म हेर्न चाहन्न । सरकार बलियो हुनुपर्छ त्यत्तिकै बलियो अपोजिशन पनि हुनुपर्छ । अनि मात्र दुईवटाको बीचको तालमेलले गेर राष्ट्र अगाडि बढ्छ । तर, प्रतिपक्ष बलियो नभएको अवस्थामा एकलौटी हुन्छ । तानाशाहीतर्फ हामी धकेलिन्छौं । उनीहरुको मनलाग्दी हुन्छ । यो ठीक होइन ।’

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिको खेलाडी भएको चर्चा गर्दै उनले प्रचण्डले अझै केही गर्न सक्ने टिप्पणी गरे । ‘अहिलेको प्रधानमन्त्रीले यसलाई ठीक गर्नुपर्छ । उहाँ एक किसिमको खेलाडी नै हुनुहुन्छ’, कोइरालाले भने, ‘उहाँ आफ्नो अस्तित्वलाई जोगाउँदै राजनीति अगाडि बढाइरहनुभएको छ ।’

कोइरालाले वर्तमान राजनीतिक नेतृत्वमा राजनीतिक प्रतिबद्धता र स्पष्ट धारणा नभएको बताए । नेतृत्वमा भएको व्यक्तिसँग कडा नीति र दृढ संकल्प हुनुपर्नेमा आजभोलि नेताहरुमा यो नदेखिएको उनको भनाइ थियो ।